PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

साबा यू–१६ पुरुष बास्केटबलमा नेपालको विजयी सुरुवात



पहिलोपोस्ट

साबा यू–१६ पुरुष बास्केटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं : नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुवात गरेको छ। राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९६–३८ ले सहजै हरायो। भुटानको भने लगातार दोश्रो हार हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले पहिलो क्वाटरमा २६–१० को अग्रता लिएको थियो। दोश्रो क्वाटरमा भने नेपाल १३–१४ को अन्तरले पछि पर्‍यो। बाँकी दुई क्वाटर नेपालले क्रमशः २६–६ र २१–८ ले आफ्नो पक्षमा पार्दै जित अन्तर फराकिलो बनाएको हो।

नेपालको जितमा अभिषेक सिंहको सर्वाधिक २३ अंक योगदान रह्यो। त्यस्तै नेपालको स्कोर बोर्डमा चिरञ्जिवी रोकायाले २०, आशिष बस्नेतले १२, सन्तोष खत्रीले ८, आकृष्त शाहीले ७, सयुन राई, निखिल डंगोल र सतीश लामाले समान ६–६, विक्रम बानियाँले ४, सुरेश विकले ३ तथा आशिष भुजेलले १ अंक थपे।

दिनको पहिलो खेलमा भने भारतले बंगलादेशलाई ८२–६५ ले हराउँदै लगातार दोश्रो जित हासिल गर्‍यो। जितसंगै भारत ४ अंकसाथ शीर्ष स्थानमा छ।

बंगलादेशको भने दुई खेलमा यो पहिलो हार हो। दोश्रो स्थानमा रहेको बंगलादेशको ३ अंक भएको छ। अघिल्लो दिन मंगलबार भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानलाई हराएका थिए।

सुरुको क्वाटरमा २६–१३ को अग्रता लिएको भारत दोश्रोमा १६–१८ ले पछि परेको थियो। तेश्रोमा पुनः १६–९ को अग्रता बनाउन सफल भारत चौथोमा फेरि २४–२५ ले पछाडि रह्यो। भारतका लागि प्रियान्शुले सर्वाधिक २८ अंक जोडे।

दक्षिण एसियाली ५ राष्ट्र सहभागी प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार ओपचारिक रुपमा उद्घाटन गरे।

 

भोलिको खेल :

भुटान विरुद्ध माल्दिभ्स                  बिहान ११:०० बजे

नेपाल विरुद्ध बंगलादेश                  अपरान्ह १:३० बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell