बनेपा: तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएकाे छ।
धुलिखेल अस्पतालका चिकित्सक डा. अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुने बताए।
डा. रिसालले भने “जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, केही मात्रामा मानसिक प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ।”
जिल्लामा चालु आव २०७४/०७५ को साउन १ देखि भदौ १६ गतेसम्म मात्रै २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीमध्ये १४ जनाले झुण्डिएर र १४ जनाले विष खाएर आत्महत्या गरेका छन्।
त्यस्तै, आव २०७३/०७४ को एक वर्षमा ९८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ५९ जनाले विष खाएर र ३९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए।
उनले सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिए। रासस