काठमाडौं : गुन्डा नाइके दिपक मनाङे बिगत केही समयदेखि ठमेल क्षेत्रमा गुन्डागर्दी गर्दै आएका छन्। यसबाहेक स्वयम्भु, बौद्ध, सोह्रखुट्टे लगायतका क्षेत्र पनि गुन्डागर्दीमा कहलिएका ठाउँ हुन्।
पछिल्लो समयमा नयाँ शहरको विकाससँगै गुन्डागर्दी क्षेत्र पनि फेरिएका छन्। उपत्यकाभित्र अहिले गुन्डागर्दी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। स्थापित गुन्डाहरु पनि यस्तो ठाउँमा स्थानान्तरण भएकाे एक प्रहरी अधिकारी बताउँछन् ।
यी हुन् राजधानीका गुन्डागर्दीका नयाँ ठाउँ
काठमाडौंको नयाँ बस्ती, कपन, बुढानिलकण्ठ, धापासी, नयाँबसपार्क, बालाजु, बाफल, कालिमाटी, थानकोट, कोटेश्वर क्षेत्र पछिल्लो समय गुन्डागर्दी हुने शहर हाे। यहाँ गुन्डागर्दीमा सक्रिय टोलेदेखि नाइके गुन्डाहरुसमेत बसोवास हुने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाको रेकर्डले देखाउँछ।
एक प्रहरी अधिकृत भन्छन् ‘पछिल्लो समय यी ठाउँहरुमा नयाँ बस्ती बसेकाले गुन्डाहरु गुन्डागर्दी र बसोबास गर्ने गरेका हुन्। यी बस्तीहरुमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटका मानिसको बसोबास बढिरहेको छ।’
मंगोलियन बस्ती बढी भएको स्थानमा गुन्डागर्दी गर्नेहरुको बसोबास भएको प्रहरी अधिकृत बताउँछन्। लेखपढ नै नगर्ने युवाहरु साना–तिना चोरी सुरु गरेर गुन्डागर्दीमा लाग्ने गरेको उनले बताए। यसरी गुन्डागर्दीमा सक्रिय १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी रहेका छन्।
नयाँ गुन्डाको पहिचान गर्दै प्रहरी
दुई साताअघि प्रहरीले महाजगञ्जबाट गुन्डा नाइके चक्रे मिलनलाई पक्राउ गर्यो। मिलन लामो समयदेखि चक्रपथ क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका कहलिएका गुन्डा हुन्। गुन्डा नाइके दिपक मनाङे, गणेश लामा, समीरमान बस्नेत, राजु गोर्खाली प्रहरीका नजरमा चिरपरिचित गुन्डा नै हुन्। गणेश लामा, दिपक मनाङेले त अहिले राजनीतिकमा लागेका छन् तर काठमाडौंमा नयाँ प्रहरी प्रमुख आए लगत्तै उनीहरु प्रकाउ पर्ने गरेका छन्। प्रहरीभित्र नै सस्तो लोकप्रियताका लागि यस्तो भएको भन्दै आलोचना हुने गरेको छ।
८ महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख भएर आएका एसएसपी छविलाल जोशीले १६० जना गुन्डाको सूची नै बनाएर हप्ता विराउँदै पक्राउ गरे। सार्वजनिक अपराधअन्तर्गत केही दिन जेलमा बसेर उनीहरु छुटे। उनीहरु जेलमा भए पनि बाहिर गुन्डागर्दी कम भएको थिएन।
महानगरीय अपराध अनुसन्धान महाशाखाले अहिले नयाँ गुन्डाको पहिचान गर्नेका लागि प्रहरी खटाएको छ। महाशाखाका एक प्रहरी अधिकारी भन्छन् ‘अहिले नयाँ पुस्ताका गुन्डाहरु देखा परेका छन्। सधै पुरानाको पछाडि लागेर मात्र हुँदैन।’
उपत्यकाका काठमाडौंमा सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्दछ। राजधानीका ठमेल, नयाँबजार, सामाखुसी, चक्रपथ, गोगंबु, कलंकी, सुन्धारा, दरबारमार्ग, गौशाला, बौद्धलगायतका क्षेत्रमा सबैभन्दा बढी अपराध हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।