काठमाडौं : राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समिकरण पुरा भएको छ। समुह चरणका खेलहरुको समाप्तीपछि खुसी नेपाल, प्रयास ओसिड, थ्री एन्जल्स र बाल मन्दिरको बी टिम अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा थ्री एन्जल्सले शतप्रतिशत जित निकाल्दै समुह बीको विजेता बन्यो। अघिल्लो दिन दुई खेल जितेको थ्री एन्जल्सले आज पहिलो खेलमा बालमन्दिरको बी टिमलाई ३–० ले हरायो। यस्तै दोस्रो खेलमा थ्री एन्जल्सले लाइट हाउस फाउन्डेसनलाई १–० ले हरायो।
बालमन्दिर बी ले दोस्रो खलमा भ्वाइस अफ चिल्ड्रेनबाट बाइ पाएको थियो।
समुह ए बाट खुसी नेपाल र प्रयास ओसिड सेमिफाइनलमा पुगे। खुसी नेपालले पहिलो खेलमा सोबर रिकभरीलाई ७–० ले हराएको थियो भने दोस्रो खेलमा बालमन्दिरको ए टिममाथि १–० को जित दर्ता गरायो। प्रयास ओसिडले पनि पहिलो खेलमा बालमन्दिर एलाई २–१ ले हरायो भने दोस्रो खेलमा आयोजक सेल्टर आश्रय नेपालमाथि १–० को जित हात पार्यो।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुनेछ। सेल्टर आश्रय नेपालको आयोजनामा जारी प्रतियोगितामा अनाथ तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो। सहभागि टिमबाट उत्कृष्ट खेलाडीबाट मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकपका लागि नेपाली टिमको छनोट गरिनेछ।