सियरालियोनः सियरा लियोनमा अगस्ट महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार बालबालिकाको बिचल्ली भएको छ।
उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन्। बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर राखिएको छ।
राजधानी फ्रिटन नजिकै आएको बाढी पहिरोका कारण हजारौँ व्यक्ति घरबारबिहीन भएको सूचना तथा सञ्चार उपमन्त्री कर्नेलिउस डेभेक्सले जानकारी दिए।
सियरा लियोनको कानिङगोलगायतका समुदायलाई गत अगस्त महिनाको सुरुतिर आएको बाढी पहिरोले असर पारेको छ। उद्वारसम्बन्धी विभिन्न निकायहरूमा ती घरबारबिहीन बालबालिकाको विवरण दर्ता भएको अधिकारीहरूले बताएका छन्।
उनका अनुसार क्याथोलिक डन बस्को फम्बुललगायतका स्थानीय केही गैरसरकारी संस्थाहरूले घरबारबिहीन भएका बालबालिकाहरूका लागि आवासको व्यवस्था गरिदिएका छन्।
बाढी पहिरोका कारण करिब पाँच सय जनाको मृत्यु भएको र उनीहरुको शव पनि धेरै पछिमात्र भेटिएको उपमन्त्री डेभेक्सले जानकारी दिए। उनले खोजी तथा उद्धार कार्यका लागि निकै गाह्रो भएको अनुभव पनि सुनाए।
ठूलो झरी र अविरल वर्षाका कारण अघिल्लो सोमबारदेखि देशका धेरै ठाउँमा गएको पहिरोमा परी करिब ६०० जना बेपत्ता भएका बताइएको छ। रासस/सिन्ह्वा