PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

इस्टर्न रिजनको च्याम्पियन बनेर एसिया कप खेल्ने लक्ष्य : दीपेन्द्र सिंह ऐरी

इस्टर्न रिजनको च्याम्पियन बनेर एसिया कप खेल्ने लक्ष्य : दीपेन्द्र सिंह ऐरी

पहिलोपोस्ट /पहिलोपोस्ट


मलेसिया : दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले सोमबारदेखि मलेसियामा एसीसी यू-१९ कप इस्टर्न रिजनल प्रतियोगिता खेल्दैछ।

पहिलो पटक नेपाली युवा टोलीको कप्तानी गर्दै प्रतिस्पर्धा गर्न लागेका दीपेन्द्रले यस खालको प्रतियोगिताले सिनियर स्तरको क्रिकेट खेल्ने अवसर प्रदान गर्ने बताएका छन्। 'युवा खेलाडीले राम्रो खेल्न सके सिनियर टिममा पर्न सक्ने सम्भावना बढ्नेछ। त्यसैले सबैले मेहनत गर्नुपर्छ,' शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा उनले भने।

यस्तै ऐरीले नेपालले प्रतियोगितामा राम्रो प्रदर्शन गरेर च्याम्पियन हुँदै एसिया कपको लागि छनोट हुने बताए। उनले भने, 'हामीले छोटो समयको प्रशिक्षणमा मेहनत गरेको छौँ। टिममा अनुभवी खेलाडी छन। हामी उपाधि दाबेदार टोली हौँ। हाम्रो लक्ष्य एसिया कप खेल्ने हो।'

यू-१९ एसिया कपको छनोटको रुपमासमेत रहेको एसीसी यु १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले सोमबार पहिलो खेल थाइल्यान्डसँग खेल्दैछ। प्रतियोगिताको समुह ए रहेको नेपालले १३ तारिकमा भुटान र १४ मा सिंगापुरसँग खेल्नेछ।

यसै गरी समुह बी मा आयोजक मलेसिया, चीन, हङकङ र म्यानमार छन।

प्रतियोगिताको लागि १७ सदस्यीय नेपाली टोली शुक्रबार मलेसिया आइपुगेको छ।

नेपाली टोलीले शनिबार बिहान किन्नरा ओभल मैदानमा करिब २ घण्टा बढी अभ्यास गरेको छ।

मलेसियामा सेप्टेम्बर १७ तारिखसम्म चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले यू-१९ एसिया कप क्रिकेट खेल्न पाउँछ।

नेपाली टोलीले प्रशिक्षक विनोद दास र कलाम अलीको प्रशिक्षणमा प्रतियोगिता खेल्दैछ।

नेपालले प्रतियोगिताका लागी करिब तिन साता काठमाडौंमा अभ्यास गरेको थियो। भारतीय क्रिकेटर  मोन्टी देसाईले युवा टोलीलाई ब्याटिङमा आत्मविश्वास बढाउनका लागी सहयोग गरेका थिए। देसाईको प्रशिक्षण लिएपछि टोलीमा आत्मविश्वास बढेको कप्तान दिपेन्द्रसिंह ऐरीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell