काठमाडौं : दसैंका लागि मंगलवारबाट लामो दुरीमा चल्ने सवारीको टिकट बुकिङ खुल्दैछ। यसपटकको दसैं मनाउन गाउँ फर्कनेहरुले टिकट पाउन निकै सकस हुने देखिएको छ।
सरकार र यातायात व्यवसायीबीचको विवाद लम्बिँदा टिकट बुकिङ ढिला खुलेको हो। मंगलवारबाट केन्द्रीय बुकिङ काउन्टर नयाँ बसपार्क लगायत शाखा टिकट काउन्टरबाट बिक्री हुँदैछ। बिहानबाट नै टिकट बिक्री शुरु हुने यातायात व्यवसायीले जानकारी दिएका छन्।
व्यवासायीले दसैंको लागि नयाँ सवारी नथपेकाले टिकट पाउन कठिन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यवाहक अध्यक्षमा डोलनाथ खनालले बताए।
खनालले भने, 'टिकट केही ढिला खुल्यो त्यसमा पनि नयाँ सवारी थपिएनन्। त्यसैले टिकट पाउन केही गाह्रो हुने देखिन्छ।'
उपत्यकाभित्रका पाँच नाकाबाट सामान्य समयमा दैनिक साना ठूला गरेर २ हजार २ सय सबारी बाहिरिन्छन्। दसैंको समय दैनिक ५\६ हजार सवारी बाहिरिँदामात्र यात्रुको माग धान्न सक्छ। दैनिक ७\८ हजार सवारी भएमात्र यात्रुको माग पूरा हुने अध्यक्ष खनालले बताए। सरकारले तोकेको भन्दा बढी भाडा नतिर्न र नलिन पनि उनले आग्रह गरे। दसैंको घटस्थापनादेखि टीकासम्म करिब २० लाख मानिसले उपत्यका छोड्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।