PahiloPost

Jul 3, 2024 | २० असार २०८१

चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत विद्यार्थी भर्ना, शिलबन्दी गर्ने सिटिइभिटीको चेतावनी



पहिलोपोस्ट

चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत विद्यार्थी भर्ना, शिलबन्दी गर्ने सिटिइभिटीको चेतावनी

भक्तपुर :  मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिक रुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार संकलन गरेको छ। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनै पनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिक रुपमा विद्यार्थी भर्ना गरेको हो। 

सिटिइभिटीको अनुमति बिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीन वर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी दुई लाख ५० हजार अग्रिम शूल्क लिएर विद्यार्थी भर्ना गराएको हो। 

कलेजका लेखा शाखाका विक्रम देउजाले एकदिनका लागि भर्ना खोलेको बताउँदै १३७ जना विद्यार्थीले आवेदन दिएकामा ३७ जनालाई भर्ना गरिएको र तीन वटा सिट छात्रवृत्तिका लागि राखिएको जानकारी दिए। 

सिटिइभिटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको तर दुईवर्षदेखि अदालतबाट अन्तरिम आदेश ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यस वर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भएको बताए। 

कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहसँग यसबारे जानकारी लिन खोज्दा उनी भने सम्पर्कमा आएनन्। 

कलेजले अवैधानिक रुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तत्काल भर्ना रोक्न कलेजलाई निर्देशन दिएका छन्। 

यता सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले चक्रवर्ती हवि नर्सिङ कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेकाले विद्यार्थी भर्ना नगर्न सूचना जारी गरेको बताए। 

विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सिटिइभिटी नहुने बताउँदै उनले दुईवर्ष अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यसवर्ष भने कलेज खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताए। 

कलेजले विगत दुईवर्ष पनि यसैगरी अवैधानिक रुपमा विद्यार्थी भर्ना गर्ने र अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराउने गर्दै आएको थियो। 

सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए/नभएको, शिक्षक गुणस्तरीय भए/नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए/नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम छ। 

चक्रवर्तीले सिटिइभिटीका यी कुनै नियम पूरा नगरेको सिटिइभिटी सम्बन्धन महाशाखाका निर्देशक जीवनारायण काफ्लेले जानकारी दिँदै कलेजमा शिलबन्दी गरिने बताए। 

विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यस वर्ष भने ऐन मिच्ने, १०० शय्याको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नगर्ने अदालतले सिटिइभिटीको भनाइ छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell