काठमाडौः डिआइजी नवराज सिलवालले राजीनामा पत्र बुझाएका छन्। बुधवार दिउँसो प्रहरी प्रधान कार्यालयमा डिआइजी सिलवालको राजीनामा पत्र पुगेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए।
राजीनामा पत्र सिलवाल आफैले लिएर नगई अरु कसैले बुझाएका थिए।
मंगलबार सर्वोच्च अदालतले प्रधान न्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी नवराज सिलवालको रिट खारेज गरेको थियो।
लामो समयको बहसपछि रिट खारेज भएको केही घन्टामा नै डिआइजी सिलवालले दुई पाने भावुक विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको जानकारी दिएका थिए।
हेडक्वार्टरमा बुझाइएको राजीनामा पत्र प्रहरी नियमावली अनुसार गृह मन्त्रालय पुगेर स्वीकृत भएपछि मात्र सिलवालको राजिनामाले पूर्णता पाउँछ।
डिआइजी सिलवाल तीन महिना अगाडिदेखि विदामा छन्। सरकारले केही साता अगाडि मात्र सिलवालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट सरुवा गरेर राष्ट्रिय सुरक्षा परिषद्को जिम्मेवारी दिएको छ।
सँगैका ब्याचीहरु एआइजीमा बढुवा भइसक्दा पनि सिलवाल भने डिआइजी मै थिए।