दोलखा : दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन्।
भाइरल ज्वरोले महामारीको रुप लिएको छ। भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन्। सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य संस्थाको तथ्याँक हेर्दा करिब १०० को हाराहारीमा दैनिक उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले विगतका दिनमा भन्दा एक सातायता ५० भन्दा बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका बताए।
ग्रामीण भेगमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाको तथ्याङ्कअनुसार एक सातायता ७५ प्रतिशत उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने देखाएको छ। यता सामुदायिक अस्पतालमा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन्।
जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोडी सेवा दिन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले निर्देशन दिइसकेको कार्यालयका निमित्त प्रमुख डम्बर थोकरले बताए।
भाइरल ज्वरो आउँदा उच्च ज्वरो आउने, कमजोरी महसुस हुने, जिउ दुख्ने, बान्ता हुने, खोकी लाग्नेजस्ता लक्षण देखिएको छ। लगातार तीन दिनसम्म उच्च ज्वरो आएमा डाक्टरको सल्लाहअनुसार एन्टिवायोटिकलगायतका औषधि सेवन गरी आराम गर्न आवश्यक छ।
थोकरले भने “उमालेको पानी र झोलिलो पदार्थ बढी सेवन गरे रोग नियन्त्रणमा टेवा पुग्न सक्छ। यस्ता आधारभूत कुरामा ध्यान पुर्याउन सके भाइरल ज्वरोबाट निकै हदसम्म बच्न सकिने हुनाले समयमै ध्यान पुर्याउनु पर्दछ।”
यो मुख्य गरी ‘इन्फ्लुएन्जा भाइरस’ अथवा ‘राइनो भाइरस’ जस्ता विभिन्न प्रकारका भाइरसको इन्फेक्सनबाट हुने समस्या हो। त्यसमा धेरै जसोलाई रुघाखोकी लाग्ने, वाकवाक हुने, टाउको दुख्ने, ज्वरो आउने हुन्छ। यसबाट जोगिनका लागि हामीले सबैभन्दा पहिले आफूसँग जुन किसिमको रोग छ त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ।
निमित्त कार्यालय प्रमुख थोकर भन्छन् “रुघाखोकी लाग्दा बाफ लिने, पर्याप्त मात्रामा झोलिलो कुरा खाने गर्यो भने भाइरस आफै घट्दै जान्छ। तर कुनै अवस्थामा कामज्वरो आउने, धेरै ज्वरो आउने, तारन्तार खोकी लाग्ने, बेस्सरी छाती दुख्ने, स्याँस्याँ बढ्ने भयो भने चाँही भाइरल इन्फेक्सन, ब्याक्टेरिया इन्फेक्सन अथवा निमोनियामा परिणत भयो भन्ने बुझेर बिरामीलाई तत्काल अस्पताल लैजानु पर्छ।” रासस