विराटनगर : दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ।
सोमध्ये ३६ लाख लिटर संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौं पठाइएको थियो। ४० लाख लिटर दूधको पाउडर बनाइएकाे र बाँकी दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ।
व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित संस्थानले सर्वसाधारण बीच दूध बिक्री गर्नाका साथै दूधको पाउडर, मिठाइ, मख्खन, घ्यू, पनिर र आइसक्रिम बनाउने गर्छ।
दुग्ध व्यवसायसँग संलग्न पूर्वाञ्चलका विभिन्न सहकारी संस्थाका साथै किसानबाट दैनिक रुपमा सरदर २५ हजार लिटर दूध खरिद गरी १३ हजार लिटर दूध बिक्री वितरण गर्दै आएको संस्थानका प्रमुख सरोज सिंखडा जानकारी दिए।
किसानसँग खरिद गर्दै आएको दूधमा प्रतिलिटर पाँच रुपैया १० पैसा बढोत्तरी गरिएको छ।
किसानसँग प्रतिलिटर ४० र सहकारीसँग ४५ रुपैयाँमा दूध खरिद गरिएको उनले बताए। दूध संकलन बापत ढुवानी खर्च, दूध चिस्याउने र प्रशासनिक खर्च जोडेर दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्ने गरिएको छ।
संस्थानअन्तर्गत रहेको पाउडर प्लान्टको क्षमतामा विस्तार गरिएपछि दूधको पाउडर बनाउन सहज भएको छ। प्लान्टबाट दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउन सकिनेछ।
साठी हजार लिटर दूधको पाँच हजार किलो पाउडर तयार हुन्छ। १० करोडको लागतमा उक्त प्लान्ट निर्माण गरिएको हो।
संस्थान सेवामुखी भएकाले कम मुनाफामा विराटनगरलगायत विभिन्न ठाउँमा दूध वितरण गर्ने गरिएको हो।
संस्थानअन्तर्गत शुद्ध घ्यूका साथै रसभरी, लालमोहन अादि बनाइन्छ । किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगरबाट ४२६ किलोमिटर टाढा रहेको पाँचथरको देउरालीस्थित चिस्यान केन्द्रबाट पनि दूध संकलन गर्ने गरिन्छ।
त्यस्तै, यहाँदेखि ४१४ किलोमिटर टाढाको इलामको शान्तिडाँडा, ३८५ किलोमिटर टाढा रहेको पुवाखोला, ३६० किमीमा पर्ने बिवल्याँटे, ३१२ किलोमिटरमा पर्ने लक्ष्मीपुर, २६० किलोमिटर टाढाको फिक्कल, तिनघरे, धनकुटाको हिले र तेह्रथुमको चित्रस्थित चिस्यान केन्द्रबाट दूध संकलन गर्ने गरिएको छ।
मोरङ, सुनसरी, सप्तरी र सिरहाका विभिन्न चिस्यान केन्द्रबाट समेत दूध संकलन गर्ने गरिएको कार्यालयले जनाएको छ।
पूर्वी नेपालका पहाडी जिल्लाबाट समेत दूध संकलन गर्न थालेपछि किसान दूध उत्पादनतर्फ अग्रसर भएका छन्। रासस