काठमाडौँ : नेकपा एमालेले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गएराति कुटपिट गरिएको भन्दै आपत्ति जनाएको छ।
कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भएपनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले उनीहरुमाथि कारवाहीको माग गरेको छ।
पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ।रासस