PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आयोगले भन्योः दुई नम्बर प्रदेशमा विद्युत, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध होस्



पहिलोपोस्ट

आयोगले भन्योः दुई नम्बर प्रदेशमा विद्युत, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध होस्

काठमाडौंः प्रदेश नम्बर दुईका आठ जिल्लामा  भोलि हुने स्थानीय तहको निर्वाचनका समयमा  निर्वाधरुपमा सञ्चार, विद्युत तथा खानेपानी सेवा उपलब्ध गराउने सम्वन्धमा सम्बन्धित मन्त्रालयका सचिव तथा सेवा प्रदायक संस्थाका प्रमुखहरूसँग निर्वाचन आयोगले आज छलफल गरेको छ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युत, सञ्चार, खानेपानी, यातायातलगायतका अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध गराउन निर्वाचन आयोगले यसअघि नै नेपाल सरकारलाई आग्रह गरिसकेको स्मरण गराउँदै निर्वाचनलाई निर्वाधरुपमा सञ्चालन गर्न भइरहेको  तयारी र उपलब्धीबारे सम्वद्ध मन्त्रालयका सचिवसँग जानकारी लिए।

प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले गरेको तयारीप्रति धन्यवाद दिंदै विद्युत, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक सेवाहरु निर्वाधरुपमा उपलब्ध हुने किसिमले काम गर्न सम्बद्ध निकायका प्रमुखहरुलाई निर्देशन दिए।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले विद्युत, सञ्चार र खानेपानी सेवाका साथसाथै सम्पूर्ण निर्वाचन व्यवस्थापनमा उच्चस्तरको सुरक्षा प्रवन्ध मिलाउनका लागि सुरक्षा निकाय सजक हुनुपर्ने बताए।

छलफलमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रालयले प्रदेश नम्बर २ का सवै स्थानीय तहमा सञ्चार सेवा निर्वाधरुपमा सञ्चालन गर्न सम्वद्ध सञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको र सवै ठाउँमा सेवा सञ्चालन भइरहेको जानकारी दिए।

उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले प्रदेश नम्बर २ मा हुने निर्वाचनलाई दृष्टिगत गरी निर्वाध  विद्युत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell