PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

परराष्ट्रमन्त्री महरा भन्छन्ः शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं



पहिलोपोस्ट

परराष्ट्रमन्त्री महरा भन्छन्ः शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं

काठमाडौँः  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री महराले विश्वले बुझ्ने गरी नेपालको शान्ति प्रक्रिया सफलरुपमा टुंगिएको जानकारी गराइने बताए। 

प्रधानमन्त्री देउवा राष्ट्र संघको ७२औँ महासभामा भाग लिन मंगलबार २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्नेछन्। 

महाराले भने,‘केही पश्चिमा मुलुकले नेपालको शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायको विषयमा कुरा उठाएका छन्, हामी त्यस सम्बन्धमा नेपालको शान्ति प्रक्रिया सफलरुपमा अघि बढेको र त्यो अनुपम रहेको कुरा राख्छौँ, यो महत्वको विषयलाई विश्व समुदायसामु जानकारी गराउने हामीलाई अवसर पनि हो।’

सोही सिलसिलामा अतिकम विकसित र भूपरिवेष्टित मुलुककातर्फबाट महासभामा पेश गरिने संयुक्त घोषणापत्र तयारीको उच्चस्तरीय छलफलमासमेत नेपालको सहभागिता महत्वपूर्ण रहने उपप्रधानमन्त्री महराले बताए। 

बैठकले अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकले विश्व बजारमा पाउने व्यापार र पारवहन सुविधासम्बन्धी अन्तर्राष्ट्रिय अधिकारबारे संयुक्त घोषणापत्र तयार गर्नेछ। उनी महासभामा भाग लिने क्रममा आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेका छन्। 

परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नेछन्। सार्कको मन्त्रिस्तरीय बैठक बस्न नसकेको सन्दर्भमा यस बैठकलाई नेपालले ठूलो उपलब्धिका रुपमा लिएको छ। 

उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्र संघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफलका साथै राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुर प्रथा अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनेछन्।

महासभाका दौरान न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने उपप्रधानमन्त्री महराले जानकारी दिए। 

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

प्रधानमन्त्री देउवा सेम्टेम्बर २४ मा ओमनको मस्कटका लागि प्रस्थान गर्नेछन्। त्यहाँ उनले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र सुरक्षाबारे निर्देशन दिने कार्यक्रम रहेको उपप्रधानमन्त्री महराले बताए। 

नेपालले राष्ट्र संघीय मानवाधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको र महासभा बैठकका क्रममा नेपालको पक्षमा समर्थन खोजिने उनले जानकारी दिए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell