काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनले उपयोग गर्दै आएको एकमात्र हवाईमार्ग ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’मा थप विस्तार हुने भएको छ।
त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईमार्ग प्रवेश विन्दु गर्न भारतसँग द्विपक्षीय वार्ता भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
हाल सिमराको हवाईमार्गबाट मात्र अन्तर्राष्ट्रिय विमान नेपाल भित्रने गरेका छन्।
पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हालै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ३२ बुँदे भावी कार्ययोजना हवाईमार्ग प्रवेश विन्दुका लागि सम्बन्धित पक्षसँग थप छलफल गरी टुंगोमा पुर्याइने उल्लेख छ।
विमान बाहिरिने बिन्दु (एक्जिट प्वाइन्ट) का लागि काँकडभिट्टा हवाई मार्गलाई उपयोग गर्ने गरी अनुमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विदेशबाट आउने सबै विमान सिमराको आकाश हुँदै अवतरण गर्ने गरेका छन्। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा विराटनगर, तुम्लिङ्टार, जनकपुर, महेन्द्रनगर हुँदै विमान बाहिरिने गरेका छन्।
हवार्इमार्गमा समस्या आउने भन्दै भारतले थप मार्ग प्रयोग गर्न मानेको थिएन। नेपालको पहलपछि जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट समेत विमानलाई नेपाल प्रवेश गर्न दिन भारत सैद्धान्तिक रुपमा सहमत भएको छ।
अहिले पश्चिम वा पूर्व जताबाट विमान आएपनि भारतीय आकाशबाट सिमरा हुँदै काठमाडौं भित्रनुपर्छ । नयाँ हवाईमार्ग थपिए मध्यपूर्वी देशबाट नेपाल आउने दूरी छोटो हुनेछ। खाडी मुलुकबाट नेपाल आउने भाडासमेत कम हुने सम्बद्ध अधिकारी बताउँछन्।
नेपालले विभिन्न ३८ वटा मुलुकसँग हवाई उडान सञ्चालनसम्बन्धी दुईपक्षीय सम्झौता गरेको भएपनि अहिले २८ वटा विदेशी विमान सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। रासस