काठमाडौं : घरघरमा घटस्थापनासँगै हिन्दु नेपालीको महान चाड दशैँ सुरु भएको छ। यससँगै नवरात्रसमेत सुरु भएको छ।
लिपपोत गरेर चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ।
घटस्थापनाका दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ। जमरा राख्न आज बिहान ९ः४१ बजेको साइत थियो। घटस्थापनाको अघिल्लो दिन बुधवार सोह्र श्राद्ध सकिएपछि बिहीवारदेखि नवरात्र सुरु भएको हो।
दशैँलाई असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयमा लिइन्छ। यस चाडमा शक्ति स्वरूप दुर्गा भवानीका नौ रूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिन्छ।
घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन प्रसादको रुपमा टिकासँगै ग्रहण गरिन्छ। जमरा राखिएको स्थानमा दैनिक पुजा तथा स्तोत्र पाठ गरिन्छ। सप्तमीमा फूलपाती भित्र्याउने तथा अष्टमीको दिन भने जमरा राखिएको घर वा स्थानमा बलि दिने प्रचलन छ।
असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने हुनाले यसलाई दशमी पनि भनिन्छ। दशैँ खासमा कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने गरिए पनि पहिलो नौ दिनलाई नवरात्र नामकरण गरिएको छ भने दशौँ दिनलाई विजयादशमी भनिन्छ।
दशैँमा लामो छुट्टी दिए पनि सरकारले हाल पाँच दिन मात्र सरकारी छुट्टी दिन्छ।
दशैँ पुनर्मिलनको अवसर पनि हो। विजयादशमीमा मान्यजनबाट टीका थाप्न टाढाटाढाका मानिस पनि गाउँघर फर्कन्छन्। टीकाप्रसाद ग्रहणले बेमेल र शत्रुता अन्त्य गर्ने विश्वास छ।