काठमाडौं : सत्ता नै धर्मराउने गरी नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गरेको साँठगाँठ अप्रत्यासित भए पनि अनौठो होइन। संसारका कम्युनिष्टलाई एक बनाउनुपर्ने मान्यताबाट निर्देशित दलहरु एक ठाउँमा जोडिनु सामान्य भए पनि संशयहरुले प्रश्न गर्ने प्रशस्तै ठाउँ उब्जाएका छन्।
प्रमुख सत्ता साझेदारका रुपमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र सत्तामा पनि छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नेकपा एमालेमा करिबकरिब समाहित हुँदै प्रतीपक्षी पनि बनिसकेको छ। एमालेबाट मालेकालीन नेताहरु वाम मिलनको राग अलापिरहेका छन्।
मुलधारका एमाले नेतागण मौन छ। मौनको मतलव दु:खी भने नहुन सक्छ। अप्रत्यासित रुपमा भएका घटनाहरुले उनीहरुलाई पर्ख र हेरको अवस्थामा जोडेको हुन सक्छ। अर्कातिर पार्टी अध्यक्ष केपी ओलीप्रति कार्यकर्ता तहमा जुन विश्वास कायम भएको छ त्यसविरुद्ध बोल्ने हिम्मत जुटाउनु जोखिमपूर्ण छ। पूर्व प्रधानमन्त्री तथा पूर्व पार्टी अध्यक्ष झलनाथ खनाल यो प्रकृयामा सबैतिरबाट आउट छन्। तै पनि उनी मौन छन्। वाम राजनीतिक इतिहासमा माओवादीसँग कुनै समय ओलीभन्दा निकट थिए - खनाल।
मौनताको श्रृंखला माओवादी केन्द्रतिर पनि देखिन्छ। माओवादीबाट सरकारको नेतृत्वमा रहेका उप प्रधानमन्त्री कृष्णबहादुर महरा यति ठूलो राजनीतिक परिवर्तनको क्षणमा कतै देखिएका छैनन्। माओवादीका रणनीतिक मुभहरुमा सदा सर्वदा अग्रपङ्तिमा रहँदै आएका थिए उनी। जनयुद्धकालीन तीन वटै शान्ति वार्तामा महरा माओवादी पक्षबाट सरकारसँगको छलफलमा सहभागी थिए। सिंगो पार्टीको म्यान्डेट बोकेर उत्रेका उनी द्वन्द्वबाट मुलधारे राजनीतिमा आएलगत्तै माओवादीबाट फूल मन्त्री बन्नेमध्येका एक थिए। क्याबिनेटमा माओवादीको डेब्युमा यिनी सूचना तथा सञ्चार मन्त्रीका रुपमा सरकारको प्रवक्ता बनेका थिए। त्यसपछि उनी उप प्रधानमन्त्री रहे पटक पटक। अहिले पनि गठबन्धन सरकारका उप प्रधान तथा परराष्ट्र मन्त्रालय सम्हालिरहेका छन्। २०४८ सालमा संसदीय निर्वाचनमा रोल्पाबाट जितेर आएका उनी २०५२ सालमा भूमिगत भएका थिए। मुलधारे राजनीतिबाट हिंसात्मक राजनीति हुँदै फेरि मुलधारे राजनीतिमा आएका उनलाई माओवादीले यसपटक वाम गठबन्धनमा कतै पनि स्पेस दिएन। उनको साटो एकाएक उदाए जनार्दन शर्मा।
एमालेका खनाल पनि यिनीजस्तै अवस्थाबाट ग्रुज्रिरहेका छन्। वाम एकता संयोजन समितिमा दुई पूर्व प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल सँगै उपाध्यक्ष बामदेव गौतम पनि छन्। पार्टीमा वरिष्ठ नेता र पूर्व अध्यक्ष हुँदाहुँदै पनि खनालभन्दा पार्टी महासचिव ईश्वर पोखरेल यो समितिमा अटाएका छन्। त्यसपछि गठन भएको ६०/४० भागवन्डा लगाउने समितिमा पनि खनाल समेटिने कुरै भएन। एमाले राजनीतिमा खनालको योगदान पार्टी र सरकार सञ्चालनसम्मै बलियो रहेको थियो।
यता महरा पनि खनालकै हविगत भोगिरहेका छन्। प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलएकता संयोजन समितिमा समेटिँदा पार्टीलाई शान्ति प्रकृयामा अवतरण गराउने हरेक संवादमा सारथी रहेका उनी समेटिएनन्।
नेपाली वाम राजनीतिमा झलनाथ र महरा दुवैको आ आफ्नै ठाउँमा योगदान छ। सत्ता सञ्चालन र सहमति सहकार्यको वातावरण बनाउने विगतको इतिहासमा पनि यी दुईको भूमिका अतुलनीय छ। तर, यी दुवैलाई वाम गठबन्धनका प्रकृयामा समावेश गराइएको छैन। किन उनी उनीहरु यति ठूलो 'गेम'मा आउटसाइडर बनाइए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै कुनै दिन जवाफ देलान।