PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पुनःनिर्माणसँगै लमजुङको राईनासकोटमा फेरि सुरु भयो होमस्टे 



पहिलोपोस्ट

पुनःनिर्माणसँगै लमजुङको राईनासकोटमा फेरि सुरु भयो होमस्टे 

लमजुङ :  भूकम्पबाट क्षतिग्रस्त बनेको पूर्वी लमजुङको पर्यटकीय गाउँ राईनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) सुरु भएको छ । 

पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा घरबास कार्यक्रम सुरु गरिएको हो। भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको थियो। करिब एक करोड ५० लाख रुपैयाँको लगानीमा घर निर्माण गरिएका हुन्। 

पाँचवटा कोठा रहने भूकम्प प्रतिरोधी घर पुरानैशैलीमा निर्माण गरिएको राईनासकोट पुनःनिर्माण कार्यक्रमका संयोजक विवेक पण्डितले जानकारी दिए। 

गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी आगन, आकासे पानीको व्यवस्थापन पुरानैशैलीमा गरिएका छन्। 

राईनासकोटमा रहेका केही पुराना घरलाई भने पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ। 

गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन संग्राहलयसमेत स्थापना गरिएको छ। 

पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै सुरु भएको छ। अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलो, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ। 

त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ। प्रत्येक घरमा हरित गृहसहित कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँचीखेती सुरु गरिएको छ। 

बाइसेचौबिसे राज्य शासनमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राईनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ। 

राइनसकोटबाट अन्नपूर्ण र मनास्लु, हिमशृंखला तथा लमजुल हिमाल, बुद्ध हिमाल, गणेश हिमाल, माछापुच्छ्रेलगायत हिमाल सजिलै देख्न सकिन्छ। यसैगरी लमजुङका साविक ६१ गाविसमध्ये ६० गाविस र विभिन्न १६ जिल्लाको भू–भाग देख्न सकिने पर्यटन व्यवसायी कृष्णराज ओलियाले बताए। 

यहाँका ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढी लगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell