नाइजेरिया र कोस्टारिका अर्को वर्ष रसियामा हुने विश्वकपमा छनोट भएका छन्। नाइजेरिया विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
विश्वकपको अफ्रिकी छनोटअन्तर्गत समूह बी को खेलमा जाम्बियालाई १-० ले पराजित गर्दै नाइजेरिया छनोट भएको हो। नाइजेरियाका लागि एक मात्र गोल इलेक्स इओबीले गरे।
जितपछि समूह बी मा नाइजेरियाले ५ खेलबाट १३ अंक जोडेको ५। दोस्रो स्थानको जाम्बियाको ७ अंक मात्र छ।
यता ६ टिम सम्मिलित अन्तिम चरणको कोनकाकाफ छनोटमा समूहको दोस्रो स्थानमा रहदै कोस्टारिका पनि विश्वकपका लागि छानिएको हो। यसअघि नै यस क्षेत्रबाट मेक्सिको छनोट भइसकेको छ।
होण्डुरोससँग १-१ को बराबरी खेले पनि कोस्टारिका छनोट भएको हो। कोस्टारिकाको लागि केन्डल वाट्सनले खेलको अन्तिम समयमा बराबरी गोल फर्काएका थिए। त्यसअघि एडी हर्नान्डेजले गोल गर्दै होण्डुरोसलाई अग्रता दिलाएका थिए।
यस्तै छनोट भइसकेको मेक्सिकोले ट्रिनिडाड एण्ड टोबागोलाई ३-१ ले हरायो। अब यस क्षेत्रबाट एक टोली सिधै विश्वकपमा छनोट हुनेछ भने अर्को टोली प्लेअफका लागि छनोट हुनेछ।
रसियामा २०१८ मा हुने विश्वकपका लागि आयोजकसँगै अहिलेसम्म १३ राष्ट्र छनोट भइसकेका छन् भने १९ राष्ट्र छनोट हुन बाँकी छन्।