
भीमदत्तनगर : नेकपा एमाले कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ।
एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए। उनका अनुसार जिल्लाबाट सिफारिस भएका नाम प्रदेश कमिटी हुँदै केन्द्रमा छनोटका लागि जानेछन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारालामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ।
त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेश सभाका लागि प्रदेश (क) मा लाबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेश सभा (ख) का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिस भएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिस गरेको छ ।
उक्त क्षेत्रको प्रदेश सभाका लागि (क) मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा (ख) मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिश गरिएको एमालेका उपसचिव रणबहादुर महराले जानकारी दिए।
त्यस्तै, निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यतर्फ प्रत्यक्षमा डा. दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिश गरेको छ। क्षेत्र नं ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेश सभा (क) मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा (ख)मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द (सिंह) को नाम सिफारिस गरिएको छ।
महराले जिल्लाबाट प्रतिनिधि सभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७÷२७ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । विसं २०७० को निर्वाचनमा एमालेले कञ्चनपुरमा रहेका चारवटै निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका नौ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो। स्थानीय तहको निर्वाचनको परिणामलाई प्रदेश र प्रतिनिधि सभामा थप फराकिलो पार्दै लैजाने रणनीतिमा एमाले कञ्चनपुर लागिपरेको छ।रासस