PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु, २३ मध्ये २२ प्रान्तमा हैजाको महामारी



पहिलोपोस्ट

हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु, २३ मध्ये २२ प्रान्तमा हैजाको महामारी
फोटो श्रोतः aljazeera.com

साना :  यमनमा चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भएको छ। 

अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। 

यमनका २३ वटा प्रान्तमध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो। हैजाबाट कुल आठ लाख ६२६ जना बिरामी भएका विश्व स्वास्थ्य संगठनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन्। त्यसैगरी धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ। 

हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै दश लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो। 

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् । 

त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन्। 

अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्बन्धी सेवाको समेत अभाव छ । 

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाँड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन्। 

यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोग र बालबालिकामा कुपोषणको अवस्था देखिएको छ। तर दाताहरुको ध्यान भने यथोचितरुपमा ती क्षेत्रहरुमा पुग्न नसकेको बताइएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell