PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता डिपीएल-२ घोषणा, रुस्लान मुख्य प्रायोजक



पहिलोपोस्ट

सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता डिपीएल-२ घोषणा, रुस्लान मुख्य प्रायोजक

काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक नगद पुरस्कार राशी राख्दै धनगढी प्रिमियर लिग डिपीएल २ टी २० क्रिकेट प्रतियोगिताको घोषणा भएको छ। आइतबार राजधानीमा डिपीएल २ को घोषणासँगै रुस्लानले मुख्य प्रायोजकको रुपमा सम्झौतासमेत गरेको छ।

प्रायोजन सम्झौतामा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र विजय डिस्टीलरीका श्रीहर समशेर जवराले हस्ताक्षर गरे। सम्झौतापछि विजय डिस्टीलरीको रुस्लानले डिपीएल २ का लागि ३५ लाख नगद प्रदान गर्नेछ भने ३५ लाख बराबरकै ब्राण्डिङ र अन्य विषयमा पनि सहयोग गर्नेछ।

सम्झौतापछि आयोजक डिसिएका अध्यक्ष सुवास शाही यहाँसम्म आइपुग्न टिम वर्क परिणाम रहेको र स्पोनसरहरुको साथसमेत पाइरहेको प्रतिक्रिया दिए।

यस्तै रुस्लानका तर्फबाट सुशील श्रेष्ठले नेपाली क्रिकेट विकासका लागि आयोजक परेको र काठमाडौं बाहिर पनि क्रिकेटलार्इ सहयोग गर्न  डिपीएलसँग जोडिएको बताए।

गत संस्करणको विजेता टि चौराह धनगढीका कप्तान तथा राष्ट्रि क्रिकेट टिमका कप्तान पारस खड्काले डिपीएलले नेपाली क्रिकेटलाई एक उचाईमा पुर्‍याएको र यसमा खेल्नको लागि खेलाडीहरु उत्साहित भएको बताए। खड्काले गत वर्ष पहिलो पटक अक्सनमा आधारित हुँदा पनि यो ठूलो प्रतियोगिता रहेको र अहिले पनि डिपीएल ठूलो प्रतियोगिता भएको प्रतिक्रिया दिए।

माघ ५ गतेबाट शुरु हुने भनिएको डिपीएलको विजेताले नगद २५ लाख पुरस्कार हात पार्नेछन्। यस्तै दोस्रो हुने १० लाख तथा तेस्रोँ र चौथौँ हुने क्रमश: ३ र २ लाख पाउने आयोजकले जनाएको छ।

यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार तथा म्यान अफ दी सिरिजले टिभिएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन्। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले पनि पुरस्कार पाउनेछन्।

गत संस्करणको विजेताले नगद १५ लाख प्राप्त गरेको थियो। त्यसमा विजेताले यो पटक दश लाख बढी पाउनेछन्।

आगामी डिसेम्बरमा हुने भनिएको एभरेस्ट प्रिमियर लिग इपीएलको विजेताले २१ लाख पाउने घोषणा भएको थियो। अब डिपीएल २ ले त्यसलाई पनि पछि पार्दै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुन लागेको हो।

गतवर्ष पुरस्कारका लागि २८ लाख खर्च गरेको आयोजकले यस पटक पुरस्कारका लागि ५० लाख छुट्याएको छ भने बजेट ३ करोड रहेको जनाएको छ।

धनगढी क्रिकेठ एकेडेमीले आयोजना गर्ने डिपीएल २ मा सहभागि टिमको संख्यासमेत बढ्न सक्ने र बढीमा ८ टिमलाई समावेश गर्न सकिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

गतवर्ष देशका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिम समावेश गर्दै अकसनका आधारमा प्रतियोगिता गरिएको थियो। जसमा टिम धनगढी चौराह, सिवाइसी अत्तरिया, कञ्चनपुर आइकोनिक, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको थियो। चौराहले उपाधि जितेको थियो।

यसपटक सहभागिता लागि विधिन्न सहरबाट प्रस्ताव आइरहेकोले टिम संख्या बढ्ने सुवास शाहीले बताए।

डिपीएल २ मा खेल्ने टोलीको घोषणा र अक्सन मंसिरमा गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अक्सनका लागि खेलाडीले नाम दर्ता गर्नु पर्नेछ। दर्ता भएका खेलाडी मात्र अक्सनमा समावेश हुनेछन्।

सिंगल राउण्ड रिवनका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोली प्लेअफका लागि छनोट हुनेछन्।

प्लेअफमा पहिलो र दोस्रो हुने टिमबीच फाइनल प्रवेशका लागि खेल हुनेछ। विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रोँ र चौथौँ हुने खेलको विजेतासँग प्लेअफको पहिलो खेलमा पराजित हुनेले फाइनल प्रवेशका लागि फेरी खेल्न पाउनेछ।

डिपीएल २ धनगढी सहरमा रहेको अञ्चल प्रहरी मैदान एसएसपी क्रिकेट ग्राउण्डमा हुनेछ।

यस्तै डिपीएलको अफिसिएल ब्रोडकास्टरको रुपमा एपीवान एचडी टेलिभिजन रहेन पनि आयोजकले जानकारी गराएको छ।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell