PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

विश्व शारीरिक सुगठन : ननिताको ऐतिहासिक उपलब्धी, नेपाललाई दुई पदक



पहिलोपोस्ट

विश्व शारीरिक सुगठन : ननिताको ऐतिहासिक उपलब्धी, नेपाललाई दुई पदक

काठमाडौं : मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन्।

नेपालबाट तीन खेलाडीले सहभागिता जनाएकोमा दुई खेलाडीले पदक दिलाउँदा ननिताले एतिहासिक रजत पदक जितेकी हुन्। ननिताले आठौँ संस्करणमा पहिलो सहभागितामै कास्य पदक जितेकी थिइन्।

ननिताले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका छन्। फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। मंगोलियाले स्वर्ण जित्दा इटालीले कांस्यमा चित्त बुझायो।

खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो। गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य जितेकी थिइन्। त्यो कांस्य पदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो।

आठौं विश्व शारीरिक सुगठन ननिताको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो। ननिताले २०७३ सालमा काठमाडौंमा भएको प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर थालेकी थिइन्। त्यस प्रतियोगितामा ननिताले स्वर्ण जितेकी थिइन्।

सोमबार सम्पन्न हुने प्रतियोगितामा नेपाली खेलाडीको प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतियोगितामा ननिता र २ पुरुष खेलाडी गरी ३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। रुजेशले ६० केजीमा कांस्य जिते भने ५५ केजीमा कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए।

नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको महासचिव श्रेष्ठले बताएका छन्। ‘नवौं विश्व शारीरिक सुगठन नेपालका लागि ऐतिहासिक क्षण हो। कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि दुई खेलाडीले पदक जितेका थिएनन्।’ महासचिव श्रेष्ठले भने– ‘यसपटक हाम्रा खेलाडीले त्यो उपलब्धी हात पार्दै सारा नेपाली र शारीरिक सुगठन प्रेमीलाई खुशी तुल्याएका छन्। सम्पूर्ण टिमलाई बधाई छ।’

नेपाली टोली सोमबार राती स्वदेश फर्किदैछ। अन्तर्राष्ट्रिय निर्णायक ईश्वरमान श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell