![प्रशिक्षक कोजी भन्छन् : ताजिकिस्तान विरुद्धको खेल कठिन छ तर हामी ३ अंक चाहन्छौँ](https://pahilopost.com/assets/upload/contentthumb/22382215_2031380737091059_2656008565516147769_o.jpg)
काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत अवे खेल नेपालले मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि घरेलु मैदानमै ताजिकिस्तानसंग पराजित भएकव नेपालको लागि अवे खेल झन् कठिन हुनेछ।
नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले ताजकिस्तान विरुद्ध जित निकाल्दै ३ अंकका साथ नेपाल फर्कने बताएका छन्।
‘ताजिकिस्तान विरुद्ध हुने भोलीको खेल कठिन छ तर हामी यहाँ जितका लागि आएका छौँ।’ दुसानवेस्थित रेजेन्सी होटलमा भएको प्रिम्याच कन्फ्रेन्समा कोजीले भने।
‘हामीसंग अहिले १ अंक मात्र छ र काठमाडौं फर्कदा ३ अंक थपेर फर्कन्छौँ हामी यसलाई रिम्याच रुपमा लिन्छौँ।’
‘हामीले बुझेका छौँ कि ताजिकिस्तानको लेभल हाम्रो भन्दा माथि छ तर हरेक टिमको कमजोरी हुन्छ र हामी भोली त्यसैलाई प्रयोग गर्नेछौँ।’ कोजलीले आफ्नो रणनिती बताए। ‘पूरै समूहमा हेर्दा मेरो विचारमा फिलिपिन्स फेभरेट टोली हो। सम्भवत ताजिकिस्तान दोस्रो हुनेछ र यमन तेस्रो। यो नै फुटबल हो।’
यस्तै नेपालका कप्तान विराज महर्जनले ताजिकिस्तानसंग व्यक्तिगत उत्कृष्ट खेलाडी भएकोले ताजिकिस्तान विरुद्धको खेल धेरै कठिन हुने बताएका छन्। ‘हाम्रो प्रशिक्षकले भनेजस्तै हामी यहाँ ३ अंकका लागि आएका हौँ। त्यसका लागि निशचय नै राम्रो फुटबल खेल्नुपर्छ।’
एसियन कप छनोटको समूह एफ मा नेपाल ३ खेलबाट १ अंकका साथ पूछारमा छ। शुरुवाती दुई खेल हारेर पनि नेपाललाई हराएको ताजिकिस्तान ३ अंकका सात तेस्रोमा छ। शीर्ष दुईमा पर्ने सम्भावना कायम राख्न नेपालले ताजिकिस्तानलाई हराउनैपर्ने हुन्छ। यस्तै ७ अंक रहेको फिलिपिन्स पहिलो तथा ५ अंक जोडेको यमन दोस्रो स्थानमा छ।
नेपालले पहिलो खेलमा फिलिपिन्स तथा तेस्रो खेलमा ताजिकिस्तानसंग हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसंग बराबरी खेल्दै पहिलो अंक जोडेको थियो।