खोटाङः बसको ठक्करबाट खोटाङमा एक वृद्धाको मृत्यु भएको छ। दिक्तेलबाट जयरामतर्फ गइरहेको बा ३ ख ६३३५ नम्बरको बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो।
वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन्। दोषीलाई कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका हुन्।
घटनाको अनुसन्धान गर्न र अवरुद्ध सडक खुलाउन टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। दुर्घटनालगत्तै बस चालक अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस