PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

प्रहरी अनुसन्धान गर्दै : के गुन्डा नाइके लामालाई गोली हान्ने सुटरले नै गौचनको हत्या गरेको हो?



सविन ढकाल

प्रहरी अनुसन्धान गर्दै : के गुन्डा नाइके लामालाई गोली हान्ने सुटरले नै गौचनको हत्या गरेको हो?

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचन र गुन्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने समूह र सुटर एउटै भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। 

गत चैत २९ गते काठमाडौंको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउसमा' गुन्डा नाइके दावा लामामाथि बिहान ९ बजेर ३० मिनेटमा गोली प्रहार भएको थियो। घटनामा लामा घाइते भएका थिए। 

गौचन घटनाको छानबिन गरिरहेका एक प्रहरी अधिकृतले भने, 'दुवै घटनामा एउटै समूह जोडिएको देखिएको छ।'

त्यसो त दावा र गौचनलाई गोली प्रहार गरेपछि घटनाको जिम्मेवारी लिएको भनिएको व्यक्ति पनि एउटै रहेका छन्। 


दावालाई गोली प्रहारपछि हङकङमा बस्दै आएका लोप्साङ लामाले तत्कालीन महानगरीय प्रहरी परिसरका काठमाडौंका एसएसपी छविलाल जोशीलाई फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए। 

सोमबार पनि गौचनको हत्यापछि आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले फोन गरेर जिम्मेवारी लिएको प्रहरीको दाबी छ। लोप्साङ, मनोज पुन र समिरमान बस्नेत केही समयदेखि देश बाहिर बसेर 'कन्ट्रयाक्ट किलर'को काम गर्ने गरेको प्रहरी बताउँछ।

मनोज पुन रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका गुन्डा हुुन् । पुन: केही समयअगाडि भारतको गोवामा बस्दै आए पनि अहिले भने भारतको कुन ठाउँमा वस्छन् प्रहरीलाई पत्तो छैन। 

सुटर र पेस्तोल एउटै हुन सक्ने

लामा र गौचनमाथि गोली प्रहार गर्ने सुटर र हतियारसमेत एउटै हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन्। 

उनले भने, ' प्रहरीको जानकारीमा मनोज पुन समूहमा तीन जना सुटर रहेको देखिन्छ। यी दुवै घटनामा एकै जना सुटर हुनुपर्छ।' 

सोमबार दिउँसो करिब २ बजेर ५० मिनेटमा मोटरसाइकलमा आएका दुई युवकमध्ये एक जनाले गौचनलाई गोली हानेका थिए। 

प्रत्यक्षदर्शीका अनुसार गोली हान्ने व्यक्ति गुलाबी टिसर्ट लगाएका अग्लो कद भएका व्यक्ति थिए। लामालाई गोली हान्दा उनको अस्पष्ट अनुहार सिसिटिभी फुटेजमा कैद भएको थियो। 

घटनास्थलमा भेटिएको गोलीका खोकालाई परीक्षणका लागि पठाएको छैन। बुधबारमात्रै प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइने बताएको छ। परीक्षणपछि गोली कुन बन्दुकबाट हानिएको थियो र कति क्यालिबरको थियो भन्ने पत्ता लाग्ने एक प्रहरी अधिकृत बताउँछन्।

सम्बन्धित समाचार
एक्सक्लुसिभ : मास्कधारीले गुण्डा नाइकेमाथि यसरी हाने गोली, हेर्नुस् भिडियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell