- गोकर्णप्रसाद भण्डारी
भूकम्पले भत्काएको र तामाकोशी नदी, सिंगटी खोलाले जमिन कटान गर्न थालेपछि त्यहाँका चार सय घर बाढीपहिरोको उच्च जोखिममा परेको छ।
जोखिम न्यूनीकरण गर्न र सिङटी बजार क्षेत्र जोगाउनका लागि दीर्घकालीन रुपमा नदी नियन्त्रण कार्य गर्न जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं ७, चरिकोट दोलखाले करिब २० करोड रुपैयाँको गुरुयोजना तयार गरी निर्माण कार्य अगाडि बढाएको छ।
तीमध्ये कार्यालयले करिब ६ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको छ भने नदी नियन्त्रणका लागि पाँच करोड रुपैयाँको लागतमा थप निर्माण कार्य अगाडि बढाएको छ।
यसका लागि ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य अगाडि बढिरहेको कार्यालयका डिभिजन प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए।
डिभिजन प्रमुख सुवेदीका अनुसार सिंगटी नदीको दायाँतर्फ ११५ मिटर तथा बायाँतर्फ ३२ मिटर गरी जम्मा १४७ मिटटर लम्बाइ, संरचनाको जगमा पाँच मिटर चौडाइ, ६ मिटर उचाइ भएको आरसिसी काउन्टरफोर्ट वाल निर्माण भएको छ।
साथै उक्त संरचनालाई मजबुत बनाउन ४ दशमलव ५० मिटर लम्बाइ, एक मिटर चौडाइ र २ मिटर उचाइको कङ्क्रिट बेड बार, ग्याबियन लञ्चिङ, संरक्षण कार्यका लागि ग्याबियनको रिभेटमेन्ट निर्माण गरिएको छ।
कार्यालयले आरसिसी काउन्टरफोर्ट रिटेनिङ वाल निर्माणको डिजाइन तथा लागत अनुमान तयार गरी राष्ट्रिय स्तरको ठेक्का बन्दोबस्तमार्फत निर्माण व्यवसायी स्वच्छन्द खानी जे।भी।सँग २०७३ असार २१ गते ठेक्का सम्झौता गरी २०७४ साल असार २५ गते निर्माण कार्य सम्पन्न गरेको हो।
तटबन्ध निर्माणसँगै सिंगटीका स्थानीयवासी खुसी भएका छन्। डिभिजन प्रमुख सुवेदीले यस क्षेत्रको संरक्षणका लागि यहाँका नदी÷खोला नियन्त्रण तथा व्यवस्थापन गर्ने कार्यलाई कार्यालयले उच्च प्राथमिकता राखेको बताए।
भूकम्पपछि सुनसान देखिएको यो बजारमा तटबन्ध निर्माणसँगै स्थानीयवासी खुसी भएका छन्। तटबन्ध निर्माणपछि अहिले सिंगटी बजार सुरक्षित बनेको भन्दै स्थानीवासी पुनः स्थायी आवास निर्माणमा व्यस्त देखिन्छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पनि सिंगटी बजारबाट पुनः निर्माण अभियान थालनी गरेको थियो। भूकम्पपछि विज्ञहरुको टोलीले सिंगटी बाढी र पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदन दिएका थिए।
तटबन्धलगायत भौतिक संरचना निर्माण हुन थालेपछि अहिले यो बजारमा आर्थिक क्रियाकलापले पनि गति लिन थालेको छ। रासस