PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एनआरएनको आठौँ विश्व सम्मेलन काठमाडौंमा सुरु, नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह 



पहिलोपोस्ट

एनआरएनको आठौँ विश्व सम्मेलन काठमाडौंमा सुरु, नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह 

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली(एनआरएन)लाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। 

एनआरएनको आठौँ विश्व सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन्। उनले भनिन्,‘संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ।’

उनले नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको बताइन्। 

नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पुर्याउने भन्दै राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनले खेलेको भूमिकाको प्रशंसा गरिन्। 

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालको विकासमा एनआरएनको विशेष भूमिका हुने अपेक्षा गरेको बताए। उनले भने,‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासको ऊर्जा बन्ने विश्वास छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनको मागअनुसार नेपालमा लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गरिन्।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देश समृद्ध नभए व्यक्तिगत सफलताको अर्थ नरहने भएकाले आफूहरुले राष्ट्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाए।

एनआरएनका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

असोज ३१ गतेसम्म चल्ने सम्मेलनमा उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell