पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान फेरि सुरु गरेको छ।
सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान अन्तरगत महानगरपालिकाले लेकसाइड ६ जरेबरस्थित सडकको बीच भागमा रहेको चौतारी र प्रतिक्षालय डोजर लगाएर भत्काएको छ।
त्यस ठाउँको बीच सडकमा चौतारी र प्रतिक्षालय रहेका कारण सडक साँघुरो हुँदा दैनिक सडक जाम र दुर्घटना हुने गरेको थियो।
त्यसैगरी महानगरपालिकाले सडकको बीच भागमा रहेको अर्को नारेश्वर चौतारीकोसमेत केही भाग भत्काएको छ।
महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन वडानम्वर ४ का अध्यक्ष शंकर बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको थियो।
मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन महानगरपालिकाले अभियान अगाडि बढाएको बताए।
‘अब,महानगरपालिकाको अभियान मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउन उन्मुख हुने छ’ उनले भने।
पोखराका मुख्य पर्यटकीय क्षेत्र लेकसाईड, फिर्के खोला आसपासका क्षेत्र र पालिखेचोकलगायतका स्थानमा सडक अतिक्रमण गरी संरचना निर्माण गरिएका छन्।
तर,महानगरपालिकाले संरचना हटाउनेतर्फ ध्यान नदिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।