काठमाडौं : गैरआवासीय नेपाली संघ(एनआरएनए)को नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास विफल भएको छ।
संघको अध्यक्षमा भवन भट्ट र जमुना गुरुङले उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने प्रयास विफल भएको हो।
संघको संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीबा लामिछाने लगायतले जमुनालार्इ मनाउने प्रयास विफल भएपछि अन्तिम समयमा उनले उम्मेदवारी दिएकी हुन्।
आइतबारको बन्द सत्रबाट एनआरएनएका अध्यक्ष शेष घलेले एनआरएनए अभियानलार्इ संस्थागत बनाउने उदेश्यसहित ल्याएको भिजन २०२० पारित भएपछि सहमतिका लागि बाटो खुलेको थियो।
योजना पारित भएपछि घले समूह केही लचिलो बनेपनि सहमति भने जुट्न सकेन्। घले पक्षधरले ल्याएको यो भिजन कार्यान्वयनका बारेमा संस्थापक अध्यक्ष महत्तो, पूर्व अध्यक्ष लामिछाने लगायतका पक्षधर विपक्षमा रहेका थिए। तर, यो भिजनलार्इ उनीहरुले सर्वसम्मत रुपमै पारित गर्न सघाए।
स्रोतका अनुसार घले समूहले लाप्राक नमूना बस्ती र एनआरएनए भवन निर्माणको जिम्मेवारी भने आफूलार्इनै दिनुपर्ने अडान राखेका थिए।
भूकम्पपछि घलेले आफ्नै परिकल्पनामा लाप्राक नमूना बस्ती निर्माण गरिरहेका छन् भने एनआरएनएको भवन निर्माण पनि उनकै पालामा सुरु भएको हो।