वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन्।
संकटकाल घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उनले बताएका छन्। दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताएका छन्।
उनले भने,‘अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिकामै हुनेगरेको छ।’
उनले यो समस्याबाट प्रभावित नभएको कुनै क्षेत्र र कुनै समुदाय नै बाँकी नभएको बताए।ट्रम्पले यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउँदै नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनु पर्ने बताए।
संकटकाल घोषणापछि अब अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइनेछ।
कार्यबाहक स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विशेष व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिएका अधिकारीले बताएका छन्। रासस/सिन्ह्वा