काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु भएको बताएका छन्।
रिपोर्टर्स क्लवको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सर्वोच्च अदालतको पछिल्लो आदेश आफूहरुलाई प्राप्त नभएको भन्दै निर्वाचन कार्यतालिका अनुसार मतपत्र छपाई सुरु भएको बताए।
‘सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन, पहिलो आदेशको जवाफ हामीले कार्तिक ७ गते नै पठाईसकेको छौं,’ प्रमुख आयुक्त यादवले भने, ‘अहिले आयोगलाई कुनैपनि पत्र आएको छैन, हामी आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छपाईलाई अघि बढाएको छौं।’ उनले जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छपाई सुरु भइसकेको बताए।
‘मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्छौं,’ यादवले भने। उनले समानुपातिकतर्फको मतपत्र छपाइको काम आजैबाट सकिएको जानकारी दिए।
यादवले पूर्वनिर्धारित मितिमा निर्वाचन हुने भन्दै अब कतैबाट पनि अन्यौल पैदा हुने काम हुन नहुने बताए। ‘चुनाव कसैले रोक्न सक्दैन, निर्वाचन आयोग चुनाव गराएरै छोड्छ,’ यादवले भने।
अदातको आदेशविपरीत हुनेगरी मतपत्र छापेपछि कसरी आदेशको सम्मान हुन्छ भन्ने प्रश्नमा यादवले भने, ‘अदालतको आदेश के छ भन्ने कुरा नै हामीले पाएका छैनौं।’