PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

हटेन बर्दिवासमा डेंगुको त्रास, ४ सय प्रभावित



पहिलोपोस्ट

हटेन बर्दिवासमा डेंगुको त्रास, ४ सय प्रभावित

बर्दिवास : महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएको छ। असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका विरामी बढ्दै गएका छन्। 

बर्दिबासका शुभ स्वस्तिक, जनसेवा र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आउनेक्रम बढेको छ। 

अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ। 

दिनहुँ डेंगुका विरामी बढ्दै गएपनि विषादी छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रणमा स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ। 

चिकित्सक र स्वास्थ्यकर्मीले भने डेंगु फैलाउने एडिस जातको लामखुट्टे विषादी छरेरभन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन्। 

घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेंगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ।

विषादीले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा अधिकारीले बताए। 

पछिल्ला तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन्। अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेका डा अधिकारीले जानकारी दिए। 

लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेंगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell