काठमाडौं : पाकिस्तानमा आगामी वर्ष जनवरीमा हुने वान डे दृष्टिविहीन विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्ट्सले प्रायोजन गरेको छ।
सोमबार दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्ट्समा एमडी जनक न्यौपानले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि गरिएको न्यौपानेले बताए।
जसअनुसार अबको ३ वर्षसम्म नेपालको दृष्टिविहीन क्रिकेट टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाडीले लगाउने सबै जर्सी साहस स्पोर्ट्सले प्रदान गर्नेछ।
यस्तै नेपाली दृष्टिविहन टोलीले २०१८ जनवरीमा पाकिस्तानमा हुने वान डे दृष्टिविहीन विश्वकप खेल्न जाँदैछ। त्यसमा जाने खेलाडी, प्रशिक्षक र अन्य अफिसियल गरी २१ जनालाई दुई सेट खेल्ने जर्सी र एक सेट अभ्यास जर्सी उपलब्ध गराउनेछ।
सम्झौतापछि दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले प्रायोजन पाएकोमा खुशी व्यक्त गरे। उनले यसअघि अन्य ठाउँमा प्रपोजल हाल्दा प्रायोजन गर्ने नगर्ने भन्ने दोधारमा रहेको तर साहसले त्यो साह देखाएको प्रतिक्रिया दिए।
उनले नेपाल दृष्टिविहीन टोलीले यसअघि दुई टी-२० विश्वकप एक एसिया कप र अन्य दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको बताउँदै पहिलो पटक वान डे विश्वकप खेल्न लागेको बताए।
विगतमा प्राक्टिस गर्ने र खेल्ने उपयुक्त मैदान नपाउँदा पनि न्यूजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता टोलीलाई हराएको उदाहरण दिँदै घिमिरेले टी यू मैदानमा प्राक्टिस गर्ने वा खेल्न पाउने हो भने अझै राम्रो नतिजा ल्याउन सकिने बताए।
दृष्टिविहीन भएपनि नेपालको सिमा पार गरेपछि जहाँ गएपनि नेपाल नै भनेर चिनिने उनले बताए।
यस्तै साहस स्पोर्ट्सका एमडी जनक न्यौपानेले वर्षमा कती वटा दृष्टिविहन टुर्नामेन्ट हुने नै निश्चित नभएकोले सम्झौताको रकम नखुलाइएको बताए। उनले आफूहरुको साथले दृष्टिविहीन नेपाली क्रिकेट टोलीलाई केही सहयोग पुग्ने र आगामी दिनमा पनि सहयोग गर्ने बताए।
राष्ट्रिय क्रिकेट टिमका प्रशिरुक्षक जगत टमाटा र कप्तान पारस खड्काले दृष्टिविहिन क्रिकेटलाई प्रायोजन हुनु राम्रो शुरुवात भएको बताए।
दृष्टिविहन टिमका कप्तान कीर्तन श्रेष्ठ दुवालले पहिलो पटक साहस स्पोर्ट्सले नेपाली दृष्टिविहीन क्रिकेटलाई प्रायोजन गरिदिएकोमा खुशी व्यक्त गरे।
साहस स्पोर्ट्सले यसअघि न्यू डायमण्ड महिला टोलीलाई एक वर्षका लागि प्रायोजन गरेको छ द्भने डायमण्ड तथा राष्ट्रिय टिमाकी मुख्य स्पाइकर प्रतिभा मालीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।