![प्रदेश ४ मा एमाले-माओवादी सिट बाँडफाँट : एमाले १३, माओवादीलाई पाँच सिट](https://pahilopost.com/assets/upload/contentthumb/uml_mao.jpg)
पोखरा : वाम गठबन्धनले लामो रस्साकस्सीपछि प्रदेश ४ का जिल्लामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ।
गठबन्धनले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटलाई अन्तिम रुप दिएको हो।
नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँट भएको जनाएका छन्। गठबन्धनका दुई पार्टीबीच भएको सहमति अनुसार प्रदेश नम्वर ४ मा एमालेले प्रतिनिधि सभाका १३ सिट पाएको छ भने माओवादीको भागमा पाँच सिट परेको छ।
प्रदेश सभातर्फ एमाले १९, माओवादी १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन्।कास्कीमा एक प्रतिनिधि सभासहित प्रदेशका २ सिट माओवादीले मागेको थियो। त्यसमध्ये प्रदेशका तीन सिटमा चित्त बुझाएको छ ।
माओवादीले पाएका सिटमध्ये पूर्वजिल्ला इन्चार्ज झलकपाणि तिवारीलाई कास्की १ (क) र वर्तमान इन्चार्ज राजकाजी गुरुङलाई २ (ख) मा टिकट दिने भएको छ।
यस्तै, कास्की ३ (क) मा रामजी बराललाई उम्मेदवार बनाउने तयारी पार्टीले गरेको बुझिएको छ।प्रतिनिधि सभामा कास्की १ बाट एमाले नेता खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने चर्चा छ।