PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा


किशोर नेपाल

कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा

  • कान्तिपुर गाथा
कामरेड पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूसँगै कामरेड केपी ओलीको टाउकोमा नेपालबाट दुनियाँलाइ नयाँ विचार, नयाँ भविष्य र नयाँ उज्यालो दिने दायित्व इतिहासले बोकाएको खुलासा गरेछन् चितवनमा। समाचार पढेर चकित परे नागरिकहरु। धेरै पाठकले सुदिप्तीलाई टेलिफोनमा भने ‘चितवनको राम्रो समाचार।’
 
त्यसैबेला भर्खरै चितवनबाट आइपुगेकी कनिका सुदिप्तीको कोठामा पसी र सोधी, ‘कत्तिको इन्टरेष्टिङ न्यूज बनेछ त प्रचण्डको ? तैंले पढिस्?’

सुदिप्तीले समाचार पढिसकेकी थिइ। उसले हाँस्दै भनी, ‘कस्तो लाग्यो तँ आफैलाई? रमाइलो लागेन? त्यो भन न। म त तलाईं त चुम्न बसेको । तेरो हात चुम्न मन लागेकोछ मलाई । हामी भरे मेरलोट तानौंला।’

अचेल कनिकालाई राजनीतिमा लेख्ने मन लागेकै थियो। उसको रुचि र इच्छा जहिले पनि सन्तुलित राजनीतिक टिप्पणी लेख्ने हुन्थ्योे। अघिल्लो साता मात्र कनिकाले प्रचण्डको श्रीमती चुनावमा उठने सम्भावना बारे चर्चागर्दै टिप्पणी लेखेकी थिइ। उसलाई प्रचण्डका बारेमा केही थाहै थिएन। उसले सोची, पत्रकारको काम प्रचण्ड वा अरु कसैको पनि जीवनमा आफनो तीक्ष्ण दृष्टि घुमाएर सूचना संकलन गर्ने हो।
 
प्रचण्डका बारे धेरै अगाडि एकपटक कनिकाका बाबाले यतिमात्र भनेका थिए, ‘तिनी जंगलमा बसेर राज्यसँग लडाईं गर्दछन्। तिनी सूर्यको गोलोजस्तै तेजिलो छन र १०० डिग्री तातो छन्।’ यसमा त जानकारी भन्दा भावनात्मक कविता धेरै थियो।

स्थानीय तहको चुनावका बेला बाबाले आफना केही बिजनेसका साथीहरुलाई डिनरमा बोलाएका थिए । कान्तिपुर सोच्नै नसक्ने हिसावले प्रदूषित भएपछि कनिकाका बाबा प्रायः क्याजुअल इभेन्ट्सहरुको आयोजना घरमा नै गर्दथे । कतै यसो साथीभाइहरुसँग बसेर खाने वातावरण नै रहेन। पाँचतारे होटलहरु पनि नाम मात्रका रहे।  बाबाको एकजना साथीले केटरिंग विजनेसमा हात हालेका थिए। उनैले घरका पार्टीहरुमा केटरिंग गर्दथे।

त्यो दिन बाबा आफना साथीभाइहरुसँग भन्दै थिए, ‘अब यी प्रचण्डले पनि लत्तो छाडे । यिनको शारीरिक उर्जाको ताप घटेर १५–१७ मा झरेको होला अहिले त । केही अप्ठेरो नपरी एमालेसँग त्यसरी लत्रिन पक्कै गएनन होला । पक्कै पनि भयको त्राशदीले अलमल्याएकोछ प्रचण्डलाई । उनी अव फियर साइकोसिसको शिकार भएका छन्।’

बाबाको जमघटमा कनिकाले अघिल्लो साता प्रचण्ड पत्नीमाथि लेखेको टिप्पणीको चर्चा भएको थियो । एकजना अंकलले टिप्पणी गरेका थिए, ‘प्रधानमन्त्रीले हटाइ सकेपछि पनि लाजै नमानी मन्त्री पदमा बसेका नकच्चराहरुका बारेमा लेख्ने स्कोप नै पाइनछ छोरीले ।’ वास्तवमा कनिकालाई त्यसवारे खासै जानकारी थिएन । नत्र त पत्रिकाले ‘सप्लिमेण्ट’ बम पडकाई हाल्थ्यो । सबैको मुखबाट आफनो तारीफ सुनेर उ फुरफुर उडेकी थिइ।

भोलिपल्ट विहानै उसले सुदिप्तीलाई कल गरेर प्रचण्डले चितवनमा उम्मेदवारी दर्ता गरेको तमाशाहेर्न आपूm इच्छुक भएको वताएकी थिइ । सुदिप्तीले कनिकाको हवाइ टिकटको व्यवस्था गरी दिइ । एघारबजे कनिका चितवन पुगी सकेकी थिइ । 

चितवनमा प्रचण्डको व्याकग्राउण्ड स्टडीगर्ने विचारमा थिइ कनिका । उसलाई आश्चर्य लाग्यो, त्यहाँ प्रचण्डको भन्दा उनकी छोरी रेणुको चर्चा बढी थियो । त्यहाँका मानिसहरुको निष्कर्ष थियो, रेणुका कार्यकर्ताले समयमा नै मतपत्र चपाएर ननिलेको भए उनले चुनाव जित्ने थिइनन । चुनाव न एमालेले जितेको थियो, न माओवादीले । चुनाव कांग्रेसले नै जितेको थियो । उसले आफनो मत रेणुलाई दिएर माओवादीसंग राजनीतिक समन्वय स्थापितगर्न खोजेको थियो ।

‘के आउला त चुनावको परिणाम ?’ कांग्रेसका मतदाताहरु यसपटक माओवादीलाई भोट हाल्ने पक्षमा थिएनन्। भर्खरै भरतपुर महानगरपालिकामा गाभिएको एक गाउँका मतदाता माओवादीसंग घोर रिसाएका थिए । उनीहरु आफनो पार्टी एमालेले भनेपनि माओवादीलाई भोट नदिन दृढ थिए ।

बाटोमा भेटिएकी एकजना महिला शिक्षक पल्लवीले कनिकासंग मन र मस्तिष्क खोलेर वताइन, ‘हेर्नुहोस वहिनी, हामी चितौनेहरु, राजनीति राम्ररी वुझेका छौं । हामीले पहिलो संविधान सभाको चुनावमा जसरी कांग्रेसलाई झुक्याएर माओवादीलाई भोट दिएका थियौं त्यसरी नै यो पटकको चुनावमा वाम–गठवन्धन चकित हुने हिसावले भोट हाल्ने विचार गरेका छौँ ।’ 

उम्मेदवारी दर्ताको दिन प्रचण्डले नाटकै गरे । उनको लीला देखेर कनिका रमाइ । पहिलो त उनले ‘लोकतन्त्रको प्रयोग गर्ने अधिकार कांग्रेसलाई छैन’ भन्दै लोकतान्त्रिक गठवन्धनलाई दक्षिणपन्थीको मुकुण्डो बाँडे। त्यसपछि उनले नकच्चरिदै भने, ‘लोकतन्त्र र लोकतान्त्रिक शव्दको आविष्कार हामी कम्युनिष्टले गरेका हौं ।’ यो बताएनन् कसले ? लेनिन, स्तालिन, ख्रुश्चेभ, वे्रजनेभ, माओ, रायमाझी, भण्डारी, ओली वा उनी आफैंले ?

त्यसपछि उनी कोलाहाल मच्चाउँदै डाँको छाडेर रोए कांग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाका नाममा। रुँदै रुँदै उनले बताए, ‘मर्ने बेलामा गिरिजाबाबुले देशको जिम्मा कांग्रेसलाइ होइन, मलाई दिनुभएको थियो । यो कुरा सबैलाइ थाह छ। उहाँको वास्तविक राजनीतिक उत्तराधिकारी म हूँ । उहाँको मात्रै होइन, वीपी कोइरालाको पनि मैं हूँ । मदन भण्डारीको पनि मैं हूँ । मेरो पनि मैं हूँ।’

कनिकालाई कार्यक्रम र प्रचण्डको भाषण अलिकति पनि प्रभावशाली लागेन । एक समय यस्तो थियो, प्रचण्ड नभए नेपाली राजनीतिको पात हल्लिन्नथ्यो । अहिले त प्रचण्ड आफैं पातहुने क्रममा पो ओर्लिएछन । राजनीतिको पात हल्लाउने उनको ताकत त खुम्चिइ पो सकेछ । 
कनिका सोच्दै थिइ, नेपालबाट दुनियाँलाइ नयाँ विचार, नयाँ भविष्य र नयाँ उज्यालो दिने दायित्वले अहिले ओली र प्रचण्ड दुवैलाइ थिचेको रहेछ । त्यसमाथि प्रचण्डलाई त ओलीको भारले पनि थिचेकोछ । ती भार माथिका अरु भारहरु कति कति । त्यसैवेला कनिकालाई सू सूले च्याप्यो । ऊ वास रुमतिर दौडिइ । 

आफनो टिप्पणीको उपसंहारमा कनिका लेख्दै थिइ, ‘देशमा जेरेन्टोक्रेसीको जरा निकै गहिरो गाडिएको छ तलैसम्म । पुराना नेताहरुलाई आफनो देशको जीर्ण अवस्थाको भन्दा आफनो जीर्ण शरीरकोे चिन्ता छ । सत्ताको चुकुलबाट हात खुस्कियो भने के गर्ने ? उनीहरुको सवैभन्दा जीवन्त र एउटै प्रश्न यत्ति नै देखिन्छ ।’

कनिकाले सम्झिइ, ‘केही समयअघि एउटा अन्तर्वार्तामा प्रचण्डले आफू शक्तिशाली हुन राजनीतिमा लागेको वताएका थिए । उनी शक्तिशाली नभएका होइनन । तर, उनले हातमा आएको शक्तिलाई आफनो कब्जामा राख्न सकेनन । आउँदो चुनावपछि उनी र उनका गठवन्धनका सवै सहयोगीहरु सत्तामा आएभने सवै नेताको शक्तिशाली वन्ने चाहनाले देश एकाधिकारवादतिर मोडिने खतरा बढेको छ। 

प्रचण्ड लोभी नेता हुन । शक्तिका लागि अहिले केपी ओलीका अघिल्तिर उनी धूलधूसरित उभिएका छन । उनको यो तालले त भोलि कसैको अगाडि पनि यसरी नै निहुरिन सक्दैनन् भन्न सकिदैन । एमालेसंगको उनको गठवन्धनको आशय अहिले नै खतरनाक न होला । भन्न सकिन्न आशय कतिबेला खतरनाक हुन्छ । किनभने, यो कुनै राजनीतिक रणनीति होइन, भोरजुवाको प्रारम्भ मात्रै हो । 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)



कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट