PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पाटन दरबार क्षेत्रको आधा पुन : निर्माण सम्पन्न, समय सीमा अगावै सक्ने लक्ष्य



पहिलोपोस्ट

पाटन दरबार क्षेत्रको आधा पुन : निर्माण सम्पन्न, समय सीमा अगावै सक्ने लक्ष्य

ललितपुर :  विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण झण्डै आधा सकिएको छ। 
सुन्दरीचोकको पूर्वी भाग, मूल (दक्षिणी) तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ। काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको हो। 

कोषले लक्ष्यभन्दा पनि अघि सक्ने गरी काम गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए।

उनले भने,‘दुई वर्ष पहिले काम सुरु गरेकामा अब डेढदेखि दुई वर्षमा सकिने देखिएको छ।’ कोषले पाँच वर्षसम्ममा काम सक्ने लक्ष्य लिएको थियो। 

उत्तरी मणिमण्डपको काम सकिने चरणमा छ। कृष्ण मन्दिरको भित्री भागको काम अन्तिममा पुगेको छ। हरिशंकर मन्दिर, चारनारायण मन्दिर, विश्वनाथ मन्दिर र दक्षिणी मणिमण्डपको काम अहिले भइरहेको छ।

यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त स्मारक पुनःनिर्माणको काम कोषले गरिरहेको छ। भूकम्प आउनु पहिले पनि कोषले यस क्षेत्रमा काम गरिरहेको थियो। 
सरकारी पहलमा भने दरबार क्षेत्रभन्दा बाहिर काम भइरहेको प्याकुरेलले बताए। उनले भने, ‘कोषले गरिरहेको काममा हामीले समन्वय गरिरहेका छौँ भने नगरका अरु स्मारकमा विभागमार्फत हामीले पुनःनिर्माणको काम गरेका छौँ।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell