PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रसुवाका उम्मेदवारको साझा नारा : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म



पहिलोपोस्ट

रसुवाका उम्मेदवारको साझा नारा : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म

  • अच्युत रेग्मी 
रसुवा :  उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न व्यस्त छन्। 

जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न थालेका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर, अनलाइनलगायतका सामाजिक सञ्जालबाट पनि मत माग्ने प्रचलन बढ्दै गएको भएपनि जिल्लाका अधिकांश बासिन्दामा सामाजिक सञ्जालको पहुँच नभएका कारण घरमै पुगेर मत माग्नुपर्ने अवस्था आएको भोट माग्न घर–घर पुगेका स्थानीय नेता राजेन्द्र आचार्यले बताए। 

नेपाली कांग्रेस र नयाँ शक्ति नेपालबीचको लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता मोहन आचार्य, प्रदेश (क) मा नेपाली कांग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन्। 

यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा एमालेका जनार्दन ढकाल, प्रदेश (क) मा नेकपा एमालेका कन्र्याल लामा तथा प्रदेश (ख) मा नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे चुनावी मैदानमा छन्। यसैगरी केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

रसुवामा उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँच गाउँपालिका छन्। वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दुई, नेकपा एमालेले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो। 

शनिबार लोकतान्त्रिक गठबन्धनले नौकुण्ड गाउँपालिकाको सर्सिऊँमा आमसभा गरेर आफ्नो पक्षमा भोट मागिरेहको थियो भने वाम गठबन्धनले गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चेमा आमसभा गरेर मत मागिरहेको थियो। मत माग्ने क्रममा दुवै पक्षका उम्मेदवारले आफ्नो जित सुनिश्चित हुने दाबीसमेत गरेका थिए। 

वाम गठबन्धनका उम्मेदवार ढकाल नेकपा एमाले रसुवाबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचित सांसदसमेत हुन्। उनी भन्छन्,‘विसं २०७० को निर्वाचनमा संविधान निर्माणका लागि भोट मागेका थियौँ, अहिलेको निर्वाचनमा समग्र जिल्लाको विकासका लागि भोट मागेको छु।’

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका आचार्य जिल्लामा भएका स्रोतसाधनको प्रयोग गरी जिल्लालाई नमुना बनाउने उद्देश्यका साथ उम्मेदवार बनेको बताउँछन्।

यसैगरी दुवै उम्मेदवारले सडक सञ्जालले विदेश छोएको अन्तर्राष्ट्रिय नाका केरुङलाई व्यवस्थित बनाउने, सबै गाउँमा मोटरबाटो पुर्याउने, रसुवावासीलाई रोजगारी दिने, जलविद्युत् उत्पादन गरेर रसुवाका जनतालाई शेयर दिलाउनेलगायतका नारा मतदातासमक्ष दिएका छन्। रसुवाका २७ वडामा ३२ हजार ३२३ मतदाता छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell