काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान सिंहले भिमसेनगोलास्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर चुनावी घरदैलो अभियान सुरु गरेका छन्।
सोमबार बिहान पत्नी सिर्जना र नेता कार्यकर्ताहरुसहित सिंह मन्दिर पुगेका थिए। प्रकाशमानले मन्दिरमा टीका र प्रसाद ग्रहण गरेपछि स्थानीयबासीलाई भेट्दै र हात मिलाउँदै भोट माग्न थाले, ‘नेपाली कांग्रेसलाई भोट दिनुहोला, मलाई जिताउनुहोला।’
सिंहले चुनावमा चुनौती महसुस गरे पनि क्षेत्र नम्बर १ का जनता बहकाउमा नलागेर आफूलाई भोट दिने विश्वास व्यक्त गरे। उनले भने, ‘यहाँ क्रान्तिकारी पार्टीका नेताहरु आएकै हो, उहाँहरुको गति के भयो?' उनले नयाँ पार्टीले केबल नारामात्र दिने तर काम गर्न नसक्ने दाबी गरे ।
‘पुराना पार्टीहरुको जुन अनुभव छ त्यो नयाँ पार्टीहसँग हुँदैन। देश विकास टेस्टेड पार्टीहरुले मात्रै गर्नसक्छ,’ प्रकाशमानले भने, ‘राजनीति रत्नपार्कमा बसेर चटकेले चटक देखाएजस्तो होइन।’
उनीसँगै काठमाडौं १ बाट विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र वाम गठवन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा पनि चुनावी प्रतिस्पर्धामा छन्।