PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

‘महन्थ कार्ड’ले दबाबमा महतो, ‘टक्ला कार्ड’माथि निधिको भरोसा 



पहिलोपोस्ट

‘महन्थ कार्ड’ले दबाबमा महतो, ‘टक्ला कार्ड’माथि निधिको भरोसा 

जनकपुरधाम :  धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

निधिसँग राजनीतिक विरासत छ भने महतोसँग मधेश आन्दोलनको श्रेय। जनकपुर निधिको गृहनगर हो भने महतोको पार्टीले भारी मतले स्थानीय निकायको निर्वाचन जितेको विश्वास।

तर हालसम्म निधि वा महतो कसले जित्ने भन्ने आँकल गर्न कठिन देखिन्छ। दुबै नेताले पार्टीभन्दा बाहिरका शक्तिमाथि विश्वास गर्दै विभिन्न कार्ड फाल्न थालेका छन्। 

‘महन्थ कार्ड’

महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट महन्थ ठाकुर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। मधेशको उच्च जातीको बाहुल्य भएको र ठाकुरको पैतृक गाउँसमेत रहेकोले उक्त क्षेत्रबाट ठाकुरले सहजै जित्न सक्ने आँकलन गरी निर्वाचनमा उठाइएको हो।

तर आइतबार नेपाली कांग्रेसले पनि ठाकुरलाई सघाउने निर्णय गर्दै कांग्रेस उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। मनोनयन फिर्ताका लागि कांग्रेस नेता निधिले पहल गरेका थिए ।

धनुषा क्षेत्र नम्बर तीनमा जित सुनिश्चित गर्न निधिले ठाकुरलाई सघाएका हुन्। कारण हो धनुषा–महोत्तरीको जातीय समीकरण।

धनुषा क्षेत्र नम्बर तीनमा हालसम्म साह र ब्राम्हणको समीकरण रहँदै आएको छ। स्थानीय निकायको निर्वाचनमा पनि सोही समीकरणले काम गरेपछि राजपाले भारी मतले जित हात पारेका थियो। मेयरमा लालकिशोर साह र उपमेयरमा रिता झाले चुनाव जितिन्।

निधिले महोत्तरी तीनमा ठाकुरलाई सघाएर धनुषा तीनमा ब्राम्हण भोट आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। जनकपुरधाममा निर्णायक मानिदै आएको ब्राम्हण भोट निधिको पक्षमा गए निधिलाई चुनाव जित्न सहज हुन सक्छ।

निधिले उक्त भोट आफ्नो पक्षमा पार्न खोज्दा अर्का उम्मेदवार राजेन्द्र महतो दवावमा परेका छन्। साह र ब्राम्हणको समीकरण टुटेको खण्डमा महतोलाई घाटा हुने निश्चित छ।

संजय साह ‘टक्ला कार्ड’

निधिले राजेन्द्र महतोलाई चुनावमा मत नदिन निवर्तमान सांसद संजय साह ‘टक्ला’लाई आफ्नो पक्षमा ल्याउने तयारी गर्दै अर्को कार्ड खेलेका छन्। जसका लागि निधिले साहसँग निन्तर संवाद गरिरहेका छन्।

हाल काठमाडौंको डिल्लीबजारस्थित कारागारमा रहेका टक्लालाई राजपा नेता महतोले धोका दिएपछि निधिसँगको संवादमा सुरु भएको हो।

साहका सहयोगी नविन यादवले पहिलोपोस्टसँग भने,‘राजेन्द्र महतोले संजय साहकी श्रीमती रंगिला देवी साहलाई जनकपुरधाममा विधायकको टिकट दिने बाचा गरेका थिए। तर महतोले धोका दिए। रंगिलाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिन तयार भएपछि पुनः महतोले विभिन्न आश्वासन दिएर उम्मेदवारी रोके। महतोले कुनै पनि कुरा पूरा नगरेर साहलाई धोका दिएका छन्।’

टक्ला दुई पटक निर्वाचित सांसद हुँदाहुँदै पनि महतोले वेवास्ता गर्दै टक्लाको राजनीति नै समाप्त गर्न खोजेको आरोप यादवले लगाए।

यता महतो पनि टक्लालाई फकाउने प्रयासमा छन्। जेलमा रहेका साहसँग महतोले संवादका लागि विभिन्न प्रयास गरेपनि हालसम्म सफल हुन सकेको छैन। जसकारण महतो थप सशंकित बनेका छन्। जनकपुरवासी टक्लाको कदमलाई पनि महत्वका साथ हेर्दैछन्।

वाम गठबन्धन महतोको साहारा

तेस्रो मधेश आन्दोलनताका एमालेप्रति आक्रमक हुँदै आएका राजेन्द्र महतोको अन्तिम साहारा वाम गठबन्धन नै हुने देखिन्छ। महतोले वाम गठबन्धनको भोट आफूतिर तान्ने प्रयास थालेका छन्। 

वाम गठबन्धनले टक्लाकी श्रीमती रंगिला देवीका लागि सिट खाली राखेको थियो। साह निर्वाचनमा सहभागी नभएपछि माओवादी केन्द्रले त्यस स्थानबाट कमजोर उम्मेदवार रामसिंह यादवलाई उठाएको छ।

महतोले निधिलाई हराउन वाम गठबन्धनसँग सहकार्य गर्न तयार भएका छन्। जसका लागि एमाले नेता रघुबीर महासेठसँग महतोले छलफल जारी राखेका छन्।

निधिले महन्थ ठाकुरलाई सघाए बापत ब्राम्हण भोट र टक्लाको समर्थन पाए चुनाव जित्ने सम्भावना सतप्रतिशत हुन सक्नेछ। यता महतोलाई वाम गठबन्धनले सघाएको खण्डमा धनुषा तीनको निर्वाचन झनै प्रतिस्पर्धात्मक हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell