PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

एसीसी यू-१९ एसिया कप : सुखद शुरुवात गर्ने नेपालको लक्ष्य



पहिलोपोस्ट

एसीसी यू-१९ एसिया कप : सुखद शुरुवात गर्ने नेपालको लक्ष्य

काठमाडौं : भोली (शुक्रबार)बाट मलेसियामा एसीसी यू-१९ एसिया कप क्रिकेट शुरु हुँदैछ। समूह ए मा रहेको नेपालले पहिलो खेलमा शनिबार किनरारा मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसिया जानुअघि नेपालले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ नेपालले घरेलु टोलीसँग ३ अभ्यास खेल खेल्‍यो। पहिलो र दोस्रो खेल हारेको नेपालले तेस्रो खेलमा भने शानदार जित हासिल गर्दै टूरको सुदख अन्त्य गरेको थियो।

नेपालको लागि भोलीको खेलमा सोही प्रदर्शन दोहोर्‍याउनु चुनौती हुनेछ। बुधबार मलेसिया पुगेको नेपालले बिहिबार पूर्ण प्रशिक्षण गरेको थियो।

बिहिबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले उक्त प्रदर्शन दोहोर्‍याउने दाउमा हुने बताए। 'प्रतियोगिताको लागि हामीले राम्रो तयारी गरेका छौँ। बंगालादेशसँगको फ्रेण्डली सिरिज धेरै प्रतिस्पर्धात्मक रह्यो। एसिया कपको पहिलो खेलमा पनि हामी राम्रो प्रदर्शन गर्न चाहन्छौँ।'

मलेसिया जानुअघि नेपालका मुख्य प्रशिक्षक विनोद दासले पनि आफ्नो पोटेन्सियल अनुसार क्रिकेट खेल्ने बताएका थिए। उनले बंगालदेश टूरपछि खेलाडीमा कन्फिडेन्स बढेको र त्यसैलाई लागु गर्न मुख्य चुनौट्टी भएको प्रतिक्रिया दिएका थिए।

दीपेन्द्रकै कप्तानीमा नेपालले मलेसियामा भएको एसीसी यू-१९ वेस्टर्न टुरनामेन्टको उपाधि जित्दै एसिया कपको लागि छनोट भएको थियो।

यस्तै बंगलादेशका कप्तान मोहम्मद शैफ हसनले पनि मलेसिया पुग्नअघि राम्रो तयारी भएको प्रतिक्रिया दिए। 'तयारी राम्रो छ। हामीलाई नेपालले कडा चुनौती दिएको थियो र एक खेल समेत जित्यो। हामी शनिबार सकरात्मक शुरुवात गर्न चाहन्छौँ।'

नेपाल र बंगलादेशसँगै समूह ए मा साविक विजेता भारत र आयोजक मलेसिया छन्।

यसअघि भएको तीनवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो। त्यही भएर पनि भारतका कप्तान हिमाशुं रानाले त्यसैलाई निरन्तरता दिन चाहेको बताए। 'केही राम्रो खेलाडी टिममा छैनन् तर अरु खेलाडीले उनीहरुको स्थान लिनेछन्। पाकिस्तान र श्रीलंकन टिम राम्रा छन्।'

आयोजक मलेसियाका कप्तान भिरनदिप सिंहले एसीसीले राम्रो अवसर दिएकाले रिजल्टमा भन्दा पनि प्रदर्शनमा ध्यान दिने बताए। 'यो युवा खेलाडीको लागि ठूलो प्याटफर्म हो।'

कूल ८ टोलीको सहभागिता रहेको एसिया कपको समूह बी मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र युएई छन्।

शुक्रबार समूह ए अन्तर्गत भारत र मलेसिया तथा समूह बी मा पाकिस्तान र अफगानिस्तान तथा श्रीलंका र युएईबीच खेल हुनेछ।

फोटो : एनएसजेएफ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell