काठमाडौँ : निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवको उपस्थितिमा आइतबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ।
बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटनासहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा र मूल्याङ्कन गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।
बैठकमा उम्मेदवार केन्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले थप प्रभावकारी कार्ययोजना र प्रयासका साथ परिचालन हुनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन सुरक्षा योजना र बैठकमा सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट निर्वाचनको सुरक्षाप्रति आयोग विश्वस्त रहेको बताए।
उनले आगामी दिनमा त्यस्ता घटना नघट्ने र उम्मेदवार तथा राजनीतिक दलका नेताहरूले सुरक्षित रुपमा प्रचार गर्ने वातावरण बन्ने विश्वास आयोगले लिएको बताए।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट स्थानीय तहका निर्वाचनकोे सफल सुरक्षा कार्ययोजनाले सबैलाई शान्ति सुरक्षाप्रति आश्वस्त तुल्याएको प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ थियो।
सो अवसरमा सुरक्षा समितिका संयोजक सुधीरकुमार साहले हिमाली तथा पहाडी जिल्लामा यातायात र सञ्चार सेवा प्रभावकारी नभएको स्थानमा ती सेवालाई चुस्त तुल्याउने र भरपर्दो सुरक्षा प्रत्याभूति गराउने सुरक्षा कार्ययोजनालाई आवश्यकताअनुसार विश्लेषण गरेर अघि बढ्न निर्देशन दिए।