डडेल्धुरा : डडेल्धुरामा राजनीतिक दलले चुनावी अभियान तीव्र पारेका छन्। जिल्लामा नेपाली कांग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन्।
कांग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ। वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ। उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन्।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन्।
प्रदेशसभा ‘क’ मा कांग्रेसबाट रघुवर भट्ट र (ख) मा कर्ण मल्ल उम्मेदवार छन्। वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमाले पठानसिंह बोहरा र ‘ख’ मा एमालेकै डा तारा जोशी उम्मेदवार छन्।
‘अबको लडाइँ गरिबी, बेरोजगारी, अशिक्षा र विकासका लागि नै हो,” प्रदेशसभा ‘क’ का कांग्रेस उम्मेदवार भट्टले भने। विसं २००७ देखि हालसम्म देशलाई सही दिशामा ल्याउने हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेकाले आफ्नो पार्टीलाई विजयी गराउन उनले आग्रह गरे।
जिल्लाको बेराजगारी र विकास निर्माणको कामलाई अगाडि बढाउने योजनासहित प्रचारप्रसार थालेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा जाशीले बताए।रासस