PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

यू-१९ एसिया कप : अफगानिस्तान पहिलो पटक फाइनलमा, नेपाल ७ विकेटले पराजित



पहिलोपोस्ट

यू-१९ एसिया कप : अफगानिस्तान पहिलो पटक फाइनलमा, नेपाल ७ विकेटले पराजित

काठमाडौं : फेरि एक पटक अफगानिस्तानको चुनौती पन्छाउन नसक्दा नेपाल ७ विकेटले पराजित हुँदै मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको सेमिफाइनलबाट बाहिरिएको छ।

समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर पहिलो पटक समूह चरण पार गर्दै सेमिफाइनल पुगेको नेपालका लागि फाइनल पुग्न अफगानिस्तान बाधक बन्यो।

बलिङमा मुजिव उर रहेमान र ब्याटिङमा रहमानुल्लाह गुर्बाज चम्केपछि नेपाल ७ विकेटले पराजित भएको हो। यसअघिको तिन वटै संस्करणमा सेमिफाइनल पुगेर बाहरिएको अफगानिस्तान पहिलो पटक फाइनल पुगेको हो।

नेपालले सन् २०११ यता अफगिनस्तानलाई यू-१९ लेभलमा पराजित गर्न सकेको छैन। अहिलेसम्म भएको १० भिडन्तमा अफगानिस्तान ७ पटक विजयी हुँदा नेपालले भने ३ खेलमा मात्र जित हात पारेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाले २८ ओभरमा १०३ रनमै अलआउट भएको थियो। नेपालले दिएको १०४ रनको लक्ष्य अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तानलाई पहिलो पटक फाइनल पूर्‍याउने क्रममा रहमानुल्लाहले ७१ रन बनाए। यस्तै विकेटकिपर इब्राहिम अली खिलले १८ तथा इब्राहिम जर्दान ३ रन बनाएर आउट भए। दरविस अबदुल रसुल १२ रनमा नटआउट रहे।

अफगानिस्तानले १८ ओभरमा १ विकेट गुमाएर ९४ रन बनाउदा पानीले खेल रोकेपछि दुई घण्टा खेल रोकिएको थियो। पुन: शुरु भएपछि नेपालले अफगानिस्तानको २ विकेट झारेको हो।

नेपालका लागि कमल सिंह ऐरी, पवन सराफ र सन्दीप लामिछानेले १-१ विकेट लिए।

त्यसअघि मलेसियाको किनरारामा मुजिव उर रहेमानले ६ विकेट लिएपछि अफगानिस्तानले सहज लक्ष्य पाएको थियो।

नेपालका लागि अनिल कुमार शाहले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

दोस्रो ओभरमा ओपनर आसिफ शेख (०) र चौथो ओभरमा अर्का ओपनर जितेन्द्र सिंहलाई (१)  गुमाएको नेपालले त्यसपछि सम्हालिन सकेन। नेपालका लागि अनिलले सर्वाधिक ५० रन बनाए। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन। अनिलले तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसँग २३ तथा पाँचौ विकेटका लागि भिम शार्कीसँग ३० रनको साझेदारी गरे।

नेपालका दीपेन्द्र ६, रोहित ४, भिम ६, पवन ८ तथा सन्दीप ७ रनमा आउट भए। आसिफसँगै कमल सिंह ऐरी र किशोर महतोले खाता समेत खोल्न सकेनन्। शहाब आलम ७ रनमा नटआउट रहे।

नेपाललाई सय भन्दा कम स्कोरमा रोक्न अफगानिस्तानका मुजिव उर रहेमानले धारिलो बलिङ गर्दै ६ विकेट लिए। १० ओभर बलिङ गरेका मुजिवले २ मेडन राख्दै २८ रन खर्चेर नेपालको ६ विकेट लिएका हुन्। यस्तै क्वाइस अहमद कमावालले २ विकेट लिए।

अफगानिस्तानले अब उपाधिका लागि आइतबार पाकिस्तानसँग खेल्नेछ। समूह चरणमा अफगानिस्तानले पाकिस्तानलाई ५७ ओभरमा अलआउट गर्दै ७ विकेटको जित हात पारेको थियो।

पाकिस्तान सेमिफाइनलमा बंगलादेशलाई डिएल मेथडमा २ रनले पराजित गर्दै तेस्रो पटक फाइनल पुगेको हो। पाकिस्तान पहिलो संस्करणमा भारतसँगै संयुक्रत विजेता बनेको थियो भने दवस्रो संस्करणमा भारतसँगै पराजित भएको थियो।

तेस्रो संस्करणमा भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell