काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नजिकिदै गर्दा मतदाता शिक्षाको लागि देशव्यापी सडक नाटक समेत सुरु भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सुरु गरिएको हो। नाटकका लागि ३८ टोलीले तीन दिनको कार्यशाला सम्पन्न गरेका छन्।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा ३८ नाटक टोलीमध्ये पहिलो चरणका लागि २० टोली शुक्रबारसम्ममा सम्बिन्धित स्थानमा पुग्नेछन्। जसमध्ये केहीले नाटक मञ्चन सुरु गरिसकेका छन् भने केही मञ्चनको प्रक्रियामा छन्। बाँकी टोलीले पनि आईतबारसम्म नाटक मञ्चन सुरु गरिसक्ने छन्।
यसै क्रममा धौलागिरी नाट्य समुह म्याग्दीले म्याग्दी जिल्लाका विभिन्न स्थानमा नाटक मञ्चन सम्पन्न गरेको छ। बुधबारबाटै यो समुहले विभिन्न स्थानमा निर्वाचन सम्बन्धि शिक्षामुलक सडक नाटक ‘महादान’ मञ्चन गरेको छ।
यस्तै बुधबारबाट सडक नाटक महादान लिएर सडकमा उत्रिएको सप्तक कला प्रतिष्ठानले शुक्रबारसम्म धादिङ र नुवाकोटका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिसकेको छ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को टोलीले शुक्रबार रामेछाप स्थित मन्थली नगरपालिकाको मन्थली बजार र रामेछाप नगरपालिकाको रामेछाप बजारमा नाटक महादान मञ्चन गरेको छ।
यस पटक निर्वाचन आयोगले ७७ जिल्ला मै निर्वाचन शिक्षाको लागि सडक नाटक गराउँदै छ। सो नाटकका लागि सांस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा नाट्यकर्मीहरु पहिलो चरणको निर्वाचन क्षेत्रमा पुगिसकेको छन्।