काठमाडौं : ए डिभिजन क्बल हिमालयन शेर्पा प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ। नैकापमा मंगलबार भएको फाइनल खेलमा १० खेलाडीको एनआइबिएल फ्रेण्ड्स क्लबलाई अतिरिक्त समयमा ३–१ पराजित गर्दै उपाधि जितेको हो।
शेर्पालाई उपाधि जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे। खेलमा पहिले अग्रता पनि त्यसलाई अन्तिम समयमा जोगाउन नसक्दा फ्रेण्ड्स पराजित भयो।
च्याम्पियन हिमालयन शेर्पाले नगद ५ लाख रुपैयाँ, ट्रफी र मेडल हात पार्दा उपविजेता फ्रेण्ड्सले २ लाख ५० हजार रुपैयाँ पायो।
चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा खेलको ६१औं मिनेटमा विदेशी खेलाडी लावलको प्रहार रिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा फ्रेण्ड्सले अग्रता लियो। १-० को अग्रता बनाएलगत्तै फ्रेण्ड्स १० खेलाडीमा झर्यो।
फ्रेण्डसका रुमेश बर्तौला दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि फ्रेण्ड्स दवावमा आएको थियो। त्यसपछि शेर्पाले एक खेलाडी कम भएकव फ्रेण्ड्समाथि लगातार दबाब बनाउँदै अन्तिम मिनेटमा बराबरी गोल फर्कायो। कप्तान मान बहादुर तामाङको पासमा शेर्पाका विसन गुरुङले बराबरी गोल फर्काएका थिए।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा शेर्पाले २ गोल थप्यो। ९८औँ मिनेटमा शेर्पाका लागि पियुस हेनरीले गोल गरेका थिए। ११८औं मिनेटमा अर्का विदेशी खेलाडी सेडरिक आवाले गोल गर्दै शेर्पाको जित पक्का गरे। शेर्पाका सेडरिक आवा खेलको म्यान अफ दि म्याच घोषित भए।
क्लबमा मात्रै नभई देशमै तयारी गरेर खेल्नुपर्ने बाध्यता रहेको अवस्थामा च्याम्पियन बन्न सक्नु क्लबको लागि ठुलो कुरा रहेको हिमालयनका प्रशिक्षक नवीन पाण्डेले बताए। पपाण्डेले विपक्षी टोली १० खेलाडीमा समेटिनु पनि जितको आधार बनेको बताए।
च्याम्पियन हिमालयन शेर्पाका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने ३ गोल गरेका फ्रेण्डसका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए। उनीहरुले समान ३० हजार रुपैयाँ हात पारे।
विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशव कुमार विष्ट, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र आयोजक ब्राइट युथ क्लबका अध्यक्ष रमेश बुढाथोकीलगायतले पुरस्कृत गरे।
ब्राइट युथ क्लब नैकापले आयोजना गरेको नकआउट प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो।