काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी नारासहितको घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा राजपाले कम्युनिष्टहरु जस्तो पटक–पटक बोली फेरिरहने दल नभएको कारणले नेपाली कांग्रेस र यसका नेताहरुसँग बसेर छलफल गर्ने, मुद्दाहरुलाई सरलीकृत गर्ने र केही हदसम्म संसदमा र बाहिर पनि छलफल र सहकार्य गर्ने आदि मामिलामा नेपाली कांग्रेस सहज, विचारवान र व्यवहारिक दल भएको उल्लेख गरेको छ।
नेकपा एमाले स्वरुपमा राजनीतिक दल देखिएता पनि यो विचार, आचरण र व्यवहारले आफूलाई एक सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकारमा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने पहाडी मुलको उपल्लो जातिहरुको संगठन भएको आरोप लगाएको छ।
आफ्नो जन्मदेखिनै अनेकौ पटक संगठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनै पनि मुद्दामा टिक्न नसकेको, पटक पटक आन्दोलनमा जाने तर बिनाकारण फेरि पर्किने, द्रुत गतिमा सहयात्री दलहरु फेरिरहने, स्वरमा ठूलो तर शासनकालमा अत्यन्त फितलो भइदिने र हालका दिनमा आफ्नो अस्तित्व नै मेटेर अर्को दलमा समाहित हुने तयारीमा रहेको अत्यन्तै अस्थिर, अच्चमको र लोपोन्मुख दल हो माओवादी केन्द्र भनेको छ ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस नेपालको सवैभन्दा पुरानो, धेरै हदसम्म ठुलो, लोकतन्त्रको हरेक संघर्ष र आन्दोलनको क्रममा अग्रपंक्तिमा रहेको र बहुदलीयताको प्राप्तिपछी सवैभन्दा लामो समयसम्म सत्तासंचालन गरेको राजनीतिक दल हो।आन्तरिक रुपमा यो दल अन्त्यन्तै अलोकतान्त्रिक भएपनि यसको दर्शन, अवधारणा र घोषणापत्रहरुमा लोकतन्त्रले पर्याप्त स्थान पाई नै रहन्छ।
परम्परागत रुपमा मध्यम धारको अगुवाई गर्दै लोकतान्त्रिक समाजवादलाई अंगालेको राजनीतिक दल भएपनि नेपाली कांग्रेसले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, धर्म निरपेक्षता, माओवादीको मुलधारमा प्रवेश र संविधानसभाको निर्वाचन आदि कार्यमा नेतृत्वदायी भूमिका खेलेकोले यसको प्रशंसा गरिनु पर्छ ।
तर जब जब कुरा मधेशी, दलित/शिल्पी, थारु, मुस्लिम, आदिवासी, जनजाती, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वन्चितिकरणमा परेका र पारिएकाहरुको अधिकार र अवसरको कुरा गरिन्छ नेपाली कांग्रेस एक जिम्मेदार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै एक संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छ।
साथै देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशाशन र युवालाई अवसर आदि विषयमा पनि नेपाली कांग्रेस अत्यन्तै उदासिन र असफल देखिन्छ।
अनेकौ पटक जनताले बहुमत दिए पनि राष्ट्रिय र दुरगामी सोचको कमि, असक्षम र अदुरदृष्टि नेतृत्व र दल भित्र रहेका गुट–उपगुटको कारणले आफुलाई दिइएको भूमिका र अवसरलाई नेपाली कांग्रेसले सदुपयोग गर्न सकेको छैन।
नेपाली कांग्रेस सजग, सचेत र समझदार भइदिएको भए अनेकौं पटकको मधेश आन्दोलन र ती आन्दोलनहरुमा ज्ञठ दर्जनौं निर्दोष नेपालीहरुले ज्यान गुमाउनु पर्ने थिएन।
समयमै निर्णय गर्न नसक्ने र पछि पछुताउने यो पार्टीको अर्को ठुलो कमजोरी हो। नेपालको पहिलो, लोकतान्त्रिक र प्रशस्त अवसर पाएको दल भएको कारणले देशमा भएका नक्कली कम्युनिष्टहरुको बिगबिगी, विश्व राजनीतिबाट विलुप्त भैसकेको माओवादी विचार र संगठनको नेपालमा पुनःजन्म, विचार शून्य भएपनि एमालेको आकारमा अस्वाभाविक विस्तार, लोकतन्त्र र संविधानका लागि जनताले गर्न परेको पटक–पटकको आन्दोलन र त्यससंग जोडिएका समय र जनधनको क्षति आदिको जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ।
साथै नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद–बिक्रि, चुनावमा पैसा र बलको अत्याधिक प्रयोग, जनप्रतिनिधिहरुको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारी वृतमा देखिएको व्यापक भ्रस्टाचार आदि विसंगतिहरुको ठुलो भागीदार पनि नेपाली कांग्रेस नै हुनु पर्छ।
तर जे भएता पनि, पटक–पटकको लोकतान्त्रिक आन्दोलनबाट खारिएका नेताहरु, राष्ट्रिय चुनौती सामना गर्नुपर्दा अरु दलहरु भन्दा लचक र कम्युनिष्टहरु जस्तो पटक–पटक बोली फेरिरहने दल नभएको कारणले नेपाली कांग्रेस र यसका नेताहरुसँग बसेर छलफल गर्ने, मुद्दाहरुलाई सरलीकृत गर्ने र केही हदसम्म संसदमा र बाहिर पनि छलफल र सहकार्य गर्ने आदि मामिलामा नेपाली कांग्रेस सहज, विचारवान र व्यवहारिक रहँदै आएको छ।
नेपाल कम्युनिष्ट पार्टी एमाले
नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि एमालेले आफ्नो औचित्य सावित गर्न सकेको छैन। जुन पार्टीले नश्लीय सोचको आधारमा आफ्नो विचार, कार्यक्रम र मुद्दाहरुको चयन गर्छन, जुन पार्टीले दलको चुनावी रणनीति अन्तर्गत र साथै केहि नेताको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न आफ्नै देशको एक तिहाई जनसंख्यालाई विदेशी, बिखण्डनकारी र अन्तर्राष्ट्रिय भन्न सक्छ जुन पार्टीले राष्ट्रियता जस्तो अति सम्बेदनशील शब्दलाई पनि आफ्नो सुविधाको लागि गलत व्याख्या गरेर विभाजनको विषय बनाउन सक्छ र जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन त्यो संगठन राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?नेकपा एमाले स्वरुपमा राजनीतिक दल देखिएता पनि यो विचार, आचरण र व्यवहारले आफूलाई एक सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकारमा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने पहाडी मुलको उपल्लो जातिहरुको संगठन हो।
पार्टीको माथिल्लो नेतृत्व पंक्तितमा रहेका २० जना नेताहरुको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि यो केहि जाति विशेषका पुरुषहरुको बाहुल्यता र वर्चस्व भएको पार्टी हो । त्यहाँ मधेशी, दलित, मुस्लिम, महिला आदिको शुन्यप्रायः अपस्थितिले यो संगठनको जातीय र नश्लीय सोंच आफैमा पुष्टि हुन्छ।
यसका साथै नेकपा एमाले राष्ट्रिय विकासमा तगारो हाल्ने सबै भन्दा अग्रणी पार्टी हो। अत्यन्तै महत्वको अरुण–तेस्रो जलविधुत आयोजना बन्ने क्रममा हुँदा विश्व बैंकलाई पत्र लेखेर रोकेको वास्तविकता हो।
काठमाडाै–निजगढ द्रुतमार्ग निर्माणको सबै तयरी पूर्ण हुन लागेको अवस्थामा बिभिन्न बखेडा झिकेर अवरुद्ध गरेको अवस्था होस् अथवा नेपालमा बन्दै गरेका राष्ट्रिय महत्वका आयोजनाहरुमा दलिय र व्यक्तिगत फाइदाको आधारमा समर्थन वा विरोध गर्ने स्थायी रणनीति होस, नेकपा एमाले मुखले विकास भने पनि विकासलाई संधै अलपत्र पर्दै आएको दुई जिब्रे संगठन हो।
नेपाली जनताको गरिवी, अशिक्षा, सचेतनाको अभाव, राज्यले प्रदान गर्ने सेवा र सुविधामा पहुँचको कमी र परम्परागत रुपमा रहँदै आएको जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्नुको साटो त्यो भित्र खेल्दै बिपन्न वर्गलाई सम्पन्नताको झुठो सपना बाँड्दै आफ्नो राजनीतिक स्वार्थ सिद्धिमा लागेको संगठन हो एमाले। नेपालको कुनै पनि संसदीय निर्वाचनमा कहिल्यै बहुमत नल्याएको एमालेलाई सम्झँदा यो सरकारमा नगएको वा सरकारको नेतृत्व नै नगरेको समयको सम्झना कमै हुन्छ।
तसर्थ, एमाले विशुद्ध सत्ताको लागि राजनीति गर्ने र सत्ता प्राप्ति वा सत्तामा रही रहनको लागि जोसँग पनि जुनसुकै मूल्यमा जतिबेला पनि तालमेल गर्न तयार रहेको पार्टी हो। त्यसै गरिकन हरेक निर्वाचनमा गरिब र धनीको बीचमा फाटो ल्याएर बिपन्न वर्गबाट प्रशस्त मत ल्याए पनि ती गरिब दशकौं पछि पनि गरिब नै रहेको कुराले एमाले जनतालाई मतको लागि मात्र प्रयोग गर्ने र कसैको पनि हित गर्न नसक्ने पार्टी हो भनेर प्रमाणित हुन्छ।
तसर्थ, कुनै पनि तहको कुनै पनि निर्वाचनमा नेकपा एमालेको समर्थनमा दिएको हरेक मत समावेशिताको विरोधमा, विकासको विरोधमा, राष्ट्रियताको विरोधमा, राष्ट्रिय अखण्डताको विरोधमा र सामाजिक सद्भावको विरोधमा स्वतः जाने निश्चित छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र
यो घोषणा–पत्र नेपाली जनताको हातमा पुग्दासम्म नेकपा माओवादी केन्द्र कुन नामले चिनिने, कुन स्वरूप वा आकारमा भेटिने वा नभेटिने वा फेरि कुनै अर्को पार्टीमा विलय नै हुने हो कि निश्चित छैन।आफ्नो जन्मदेखिनै अनेकौ पटक संगठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनै पनि मुद्दामा टिक्न नसकेको, पटक पटक आन्दोलनमा जाने तर बिनाकारण फेरि पर्किने, द्रुत गतिमा सहयात्री दलहरु फेरिरहने, स्वरमा ठूलो तर शासनकालमा अत्यन्त फितलो भइदिने र हालका दिनमा आफ्नो अस्तित्व नै मेटेर अर्को दलमा समाहित हुने तयारीमा रहेको अत्यन्तै अस्थिर, अच्चमको र लोपोन्मुख दल हो माओवादी केन्द्र।
माओवादीको नाममा शुरुमा चिनिएको यो दलले नेपालमा गणतन्त्रको प्राप्तिमा, जनताको विचारोदयमा, समावेशिताको मुद्दा उठान गर्ने क्रममा र केही हदसम्म पहिलो संविधानसभामा सकारात्मक र परिवर्तनका मुद्दाहरुमा मजबुत योगदान दिएको पार्टी हो।
तर पछिल्लो क्रममा, विशेष गरिकन दोश्रो संबिधानसभामा यसको उपस्थिति कमजोर भएपछि माओबादी केन्द्र सिद्धान्त बिर्सिएर दिग्भ्रमित भएको, आफ्नो अस्तित्व बचाउन बिचलित भएको र जायज–नाजायज सबैसँग सहकार्य गर्दै हिंडेको अत्तालिएको र अविश्वासलो संगठनको रुपमा देखिएको छ त्यसैले होला, अहिले आएर कैयौं पक्षबाट माओवादीलाई राज्यको कम्तिमा दुई दशकको समय र सत्र हजार भन्दा बढी नेपालीको जीवन व्यर्थ गुमाएको आरोप लगाउन थालिएको छ ।
वाम गठबन्धन (कम्युनिष्टहरूको अवसरवादी मिलन) चुनावको मुखैमा आएर अत्यन्तै कटु सम्वन्ध भएका कम्युनिष्ट नामधारी दुई संगठनहरुको मिलनलाई वाम गठबन्धन भनेर भनिएको छ ।
यसले वाम शब्दको नै अपमान गरेको छ वामपन्थी ति दलहरु हुन् जो समाजको तल्लो वर्गको प्रतिनिधित्व गर्छ, तिनको अधिकार र अवसरको लागि माग उठाउँछ, जसले परिवर्तन र अग्रगामी यात्राको कुरा गर्छ, जसले सवैलाई समेटर विकासको बाटो पहिल्याउने कार्य गर्छ, जसले ओझेलमा परेका कमजोर र अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वन्चितिकरणमा परेका र पारिएकाहरुको उठानको कुरा गर्छ।
तर व्यक्ति हत्याबाट उठेर आएका, एकले संसद र अर्कोले जंगलबाट देशलाई दशकौं पछाडि धकेलेका, गरिवको मत प्राप्त गरेर तिनलाई झनै गरिव बनाएका, केहि मतकालागि देशलाई विदेशीहरुको क्रिडास्थल बनाउन पनि पछि नपरेका र तथाकथित उपल्लो जाति र वर्गका नेताहरुको मात्र हालीमुहाली भएका संगठनहरुको गठजोडलाई कसरी वाम गठबन्धन भन्ने रु यो एउटा नेताको फेरी प्रधानमन्त्री बन्ने सपना र अर्को नेताको राष्ट्रपति बन्ने महत्वाकांक्षाका कारणले कुनैपनि सिद्धान्तको लेसमात्र पनि उपस्थिति नभएको अत्यन्तै अल्पकालीन र अवसरबादी राजनीतिक हथकण्डा मात्र हो।
दुई व्यक्तिहरुको नितान्त वैयक्तिक स्वार्थ पुरा गर्न यसले एमालेको ४०% र माओवादीको ६०% नेतृत्व वर्गको राजनीतिक जीवनसँग खेलवाड गरेको छ । तथाकथित वाम गठबन्धनको औचित्यको बारेमा पहिलो प्रश्न पनि तिनै आ–आफ्नो राजनीतिक भविष्यकालागि जीवन भर खटिएका तर अहिले आएर अलपत्र पारिएका एमाले र माओवादीका नेता र कार्यकर्ताहरुले नै सोध्नु पर्छ।
जुन नक्कली चरित्र नेपालका कम्युनिष्ट पार्टीहरुले देखाएका छन् त्यस्तो चरित्र भएका अन्य कुनै पनि देशको कम्युनिस्ट पार्टीहरुले आफ्नो मुलुक र जनताको भलो गरेको उदाहरण छैन। नेपालका आम जनता यो विषयमा पूर्ण सचेत र सजग छ।
सामान्य बहुमतको आधारमा मात्र गणतन्त्र नेपालको पहिलो प्रधामन्त्री बन्दा पुष्पकमल दाहालले सेना प्रमुख परिवर्तन गर्ने, प्रधानमन्त्रीबाट हटेपछि वाईसीएलको प्रयोग गरेर काठमाडाै उपत्यकालाई घेरावन्दीमा पार्ने र आम जनतामा सर्वत्र त्रास फैलाउने प्रयास लाई जनताले अझै बिर्सिएका छैनन्।
त्यसैगरी हालैका दिनमा केपी. ओली ६/६ जना उप–प्रधानमन्त्री बनाएर दोश्रो ठूलो राजनीतिक दलको नेता हुँदा–हुँदै पनि प्रधानमन्त्रीको रुपमा देखाएको दम्भ, बोलेको बोली र अन्य राजनीतिक दलहरुसंग गरेको व्यवहारले के पुष्टि गर्छ भने तिनीहरुले मौका पाए भने फेरि पनि तानाशाही लाद्ने वा अधिनायकबादको अभ्यास गर्ने दुस्साहस गर्न पछि पर्ने छैनन्। नेपाली जनता यति जागरुक भइसकेको अवस्थामा तिनीहरुको त्यो प्रयास सफल हुन्छ भने त छैन तर नेपाल फेरि एक पटक संघर्षको भूमरीमा फस्ने छ र राष्ट्रको फेरि एक वा दुई दशक बहुमुल्य समय व्यर्थ जानेछ ।
तसर्थ, देशमा यस्तो कुनै पनि अवस्थाको सिर्जना हुनबाट जोगाउने सबैभन्दा ठुलो अभिभारा अहिले नेपाली जनताको काँधमा आइपुगेको छ । वाम गठबन्धन देशलाई दशकौं पछि धकेल्ने मेसो हो । यसको बहिष्कार गरौँ ।