काठमाडौं : निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधानमन्त्री कमल थापासँग स्पष्टीकरण मागेको छ।
आयोगको आचारसंहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भाेट मागेकाले उपप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते मध्यरातिदेखि मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा भोट मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय प्रजातन्त्र पार्टीलाईसमेत दिइएको छ ।
यस्तो छ आयोगले सोधेको स्पष्टीकरण
‘‘आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ) को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन रु पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४/०८/०८ को निर्णयानुसार अनुरोध छ ।’’