PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पहिलो चरणको चुनावः जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा



पहिलोपोस्ट

पहिलो चरणको चुनावः जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

काठमाडौँः पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज हुँदैछ। घोषित गठबन्धनको अभ्यासमा पहिलो पटक हुन लागेको निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गठबन्धनको मत, उम्मेदवारको व्यक्तित्व र केही टकरावका कारण पनि ती क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

वाम गठबन्धनमा आबद्ध भई टिकट विवादका कारण गोरखा २ मा कांग्रेसको सहयोगमा उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई र वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धालाई निकै चासो पूर्वक हेरिएको छ। चुनाव प्रचराका क्रममा एक अर्काप्रति भएका तीखा टिप्पणीका कारण समेत यो क्षेत्र चर्चामा छ।

यस्तै, बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाको चुनावी क्षेत्र सिन्धुपाल्चोक १ को प्रतिस्पर्धा पनि रोमाञ्चक हुने आँकलन गरिएको छ। प्रचारका दौरान दुई उम्मेदवारले एक अर्कालाई लगाएका आरोप पनि निकै चर्चामा छन्।

यस्तै सिन्धुपाल्चोक २ मा वाम उम्मेदवार शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का पशुपति शमशेर राणाबीचको प्रतिस्पर्धालाई पनि रोचक मानिएको छ। संविधानसभा सदस्यमा दुई पटक सोही क्षेत्रबाट पराजित राणा जितको खोजीमा छन्। तामाङ सो क्षेत्रमा लगातार दोस्रो जितको खोजीमा छन्।

युवा उम्मेदवारको प्रतिस्पर्धाका कारण ओखलढुङ्गा चर्चामा छ। संविधानसभा सदस्यका रुपमा संसदमा खेलेको भूमिकाका कारण उम्मेदवारद्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार दुबै संसदीय राजनीतिमा चर्चित छन्। प्रदेश नम्बर १ मा कांग्रेसको बलियो क्षेत्रका रुपमा रहेको ओखलढुङ्गामा वाम गठबन्धनपछि तीव्र प्रतिस्पर्धाको आँकलन गरिएको छ।

काठमाडौँ ६ मा दुई पटकको पराजयपछि एमाले सचिव योगेश भट्टराई योपटक ताप्लेजुङबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्। हारमा ब्रेक लगाउने योगेशको दौडमा कांग्रेस उम्मेदवार केशव दाहालले कडा चुनौती दिने विश्लेषण हुने गरेको छ। भट्टराई र दाहालको चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।

नुवाकोट १ बाट कांग्रेसका रामशरण महत र वाम गठबन्धनका हितबहादुर तामाङ तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन्। दुई पटक महतसँग हार व्यहोरेका तामाङ बदला लिने दौडमा छन्। भने, महत आफ्नो विरासत जोगाउने अभियानमा छन्।

नुवाकोट २ मा कांग्रेसकै अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा छन्। दुईको चुनावी भिडन्तलाई पनि रोचक हुने आँकलन गरिएको छ।

जाजरकोटमा शक्ति बस्नेत र राजीवविक्रम शाह, गोरखामा हरि अधिकारी र चिनकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धालाई पनि चासोका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell