विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विराटनगरमा आमसभा गर्दै प्रतिनिधि सभा र प्रदेश सभातर्फ नेपाली काङ्ग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्।
पार्टीको मोरङ जिल्ला समितिले आइतबार विराटनगरको गुद्री बजारमा गरेको चुनावी सभामा अध्यक्ष थापाले सबै खाले अधिनायकवाद र सर्वसत्तावादकाविरूद्ध नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे।
‘राप्रपाले प्रतिनिधि सभातर्फ देशभरिका १ सय ५७ र प्रदेश सभातर्फ ३ सय १५ स्थानमा नेपाली काङ्ग्रेसलाई सघाएको छ’, थापाले भने, ‘हामीले मोरङमा पनि प्रत्यक्षतर्फ कुनै क्षेत्रमा उम्मेदवारी दिएका छैनौँ।’
उनले नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आफ्नो पार्टीले चुनावी घोषणापत्र र राजनीतिक घोषणापत्रमासमेत स्वीकार गरेको उल्लेख गरे। थापाको भनाइ थियो, ‘बिपीको राजनीतिक कार्यक्रमलाई स्वीकार गर्ने पार्टी नेपाली काङ्ग्रेसपछि हामी नै हौं।’
‘संसदीय व्यवस्था मान्दैनौँ, राष्ट्रपतीय पद्धतिको सुरुवात गर्छौं र साम्यवादी शासन स्थापना गर्छौं भत्रे वाम गठबन्धनको उद्देश्यले मुलुकमा संशय र आशङ्का उत्पत्र भएको छ’, थापाले भने, ‘सत्ता, शक्ति र राष्ट्रिय स्रोतमा कब्जा जमाउने उद्देश्य वाम गठबन्धनले राखेको छ। तर साम्यवादी शासनको अभिष्ट पूरा हुने छैन। कुनै पनि आवरणमा सर्वसत्तावाद, अधिनायकवाद र निरङ्कुशतालाई जनताले स्वीकार गर्ने छैनन्।’